काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य सांसद बासना थापालाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिएको छ।
पार्टी नेतृत्वको निर्णयअनुसार थापालाई प्रमुख सचेतकमा नियुक्त गरिएको हो भने सचेतकमा निश्कल राई नियुक्त भएका छन् । थापाले अब प्रतिनिधिसभा तथा अन्य संसदीय गतिविधिहरूमा पार्टीको तर्फबाट समन्वय गर्ने, सांसदहरूबीच अनुशासन कायम राख्ने र विधेयक तथा नीति निर्माण प्रक्रियामा दलको एकीकृत धारणा प्रस्तुत गर्ने जिम्मेवारी सम्हाल्नेछिन्।
कांग्रेसभित्र संसदीय अभ्यासलाई अझ प्रभावकारी र व्यवस्थित बनाउनका लागि अनुभवी तथा सक्रिय सांसदलाई उक्त पदमा नियुक्त गरिएको बताइएको छ। पार्टी स्रोतका अनुसार थापाको राजनीतिक अनुभव, संगठनात्मक क्षमता र संसदभित्रको सक्रिय भूमिकालाई मूल्यांकन गर्दै उनलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो।
प्रमुख सचेतकको भूमिकामा रहेर थापाले अब पार्टीका सांसदहरूको उपस्थिती, मतदान प्रक्रिया, संसदीय बहस तथा अन्य महत्वपूर्ण निर्णयहरूमा समन्वय गर्नेछिन्। साथै, सरकारसँगको संसदीय संवादमा पनि उनी महत्वपूर्ण भूमिकामा रहने अपेक्षा गरिएको छ। यस नियुक्तिलाई नेपाली कांग्रेसभित्रको संसदीय व्यवस्थापनलाई अझ सुदृढ बनाउने कदमका रूपमा हेरिएको छ।
थापाले दैलेख क्षेत्र नं. १ बाट १२ हजार ३ सय ७२ मत ल्याएर विजयी भएकी थिइन् ।
प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार













प्रतिक्रिया