काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वर्तमान तनाव अन्त्य गर्ने उद्देश्यले तेहरानले अघि सारेको पछिल्लो कूटनीतिक प्रस्ताव अस्वीकार गर्ने संकेत गरेका छन्।

सीएनएनका अनुसार ट्रम्पले इरानको प्रस्तावप्रति असन्तुष्टि जनाएका हुन्।

advertisement

इरानले हर्मुज जलमार्ग हुँदै समुद्री यातायात पुनः सञ्चालन गर्ने प्रस्ताव राखे पनि आफ्नो विवादास्पद आणविक कार्यक्रमसँग सम्बन्धित महत्वपूर्ण विषयहरूलाई भविष्यका लागि थाती राख्न खोजेको बताइएको छ।

सोमबार राष्ट्रिय सुरक्षा सहयोगीहरूसँगको उच्चस्तरीय ब्रिफिङमा ट्रम्पले यसबारे आपत्ति व्यक्त गरेको स्रोतहरूले बताएका छन्।

अमेरिकी प्रशासनका अधिकारीहरूले इरानी आणविक संवर्द्धन तथा बम बनाउन सकिने युरेनियम भण्डारणको विषय नसमेटी जलमार्ग खुला गर्न दिँदा इरानमाथिको कूटनीतिक दबाब कमजोर हुने चिन्ता व्यक्त गरेका छन्।

यद्यपि हर्मुज जलमार्ग बन्द रहिरहँदा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा मूल्यवृद्धि हुने र अमेरिकी इन्धन लागतसमेत बढ्ने जोखिम रहेको छ।

सीएनएनका अनुसार अमेरिकी पक्ष इरानी सरकारभित्रको आन्तरिक शक्ति संघर्षप्रति पनि सतर्क छ।

इरानमा अन्तिम निर्णय कसले लिन्छ भन्ने विषयमा वासिङ्टन अझै स्पष्ट नभएको जनाइएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानको प्रस्ताव अपेक्षाभन्दा केही सकारात्मक देखिए पनि त्यहाँको नेतृत्व संरचना र स्थिरतामाथि प्रश्न उठाएका छन्।

उनले सर्वोच्च नेता मोज्तबा खामेनीसँग वास्तविक निर्णय गर्ने अधिकार छ कि छैन भन्ने प्रश्न गरेका छन्।

यसैबीच इरानी विदेशमन्त्री अब्बास अराघची सोमबार मस्को पुगेर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन्।

भेटका क्रममा उनले मध्यपूर्व शान्ति वार्ता असफल हुनुको दोष अमेरिकामाथि लगाउँदै वासिङ्टनको कडा अडानका कारण प्रगति हुन नसकेको बताएका छन्।

ह्वाइट हाउसकी सहायक प्रेस सचिव ओलिभिया वेल्सले संवेदनशील कूटनीतिक छलफल भइरहेको पुष्टि गर्दै अमेरिका आफ्नो हित सुरक्षित हुने अवस्थामा मात्रै सम्झौता गर्ने बताएकी छन्।

उनले इरानलाई कहिल्यै पनि आणविक हतियार बनाउन नदिइने स्पष्ट पारेकी छन्।

हालसम्म अमेरिका र इरानबीचको शान्ति वार्ताबाट कुनै ठोस नतिजा ननिस्किए पनि गोप्य कूटनीतिक संवाद भने जारी रहेको बताइएको छ।

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com