एजेन्सी । केओंझर जिल्लाबाट एउटा अत्यन्तै मार्मिक र असामान्य घटना सार्वजनिक भएको छ, जसले गरिबी र प्रशासनिक जटिलताको पीडादायी यथार्थ उजागर गरेको छ।
जिल्लाको पटना क्षेत्रमा पर्ने दियानाली गाउँका जितु मुन्डाले आफ्नी मृत दिदीको कंकाल बोकेर बैंक पुग्ने घटना सार्वजनिक भएको हो। उनकी दिदीको करिब दुई महिनाअघि बिरामीका कारण मृत्यु भएको थियो। मृत्यु हुनुअघि उनले ओडिशा ग्राम्य बैंकमा करिब १९ हजार रुपैयाँ जम्मा गरेकी थिइन्, जुन उनले आफ्ना गाईवस्तु बेचेर संकलन गरेकी थिइन्।
दिदीको अन्य कुनै कानुनी उत्तराधिकारी नभएपछि जितु मुन्डा केही दिनअघि उक्त रकम झिक्न बैंक पुगेका थिए। तर बैंकले आवश्यक प्रक्रिया पूरा गर्न मृत्यु प्रमाणपत्र लगायतका कागजात माग गरेपछि उनी समस्यामा परे। आवश्यक कागजात जुटाउन नसकेपछि उनले अन्ततः चरम निर्णय लिँदै आफ्नी दिदीको चिहानबाट कंकाल निकाले।
त्यसपछि उनले उक्त कंकाललाई नै मृत्युको प्रमाणका रूपमा बोकेर करिब ३ किलोमिटर पैदल यात्रा गर्दै बैंक पुगे। बैंक पुगेपछि उनले रकम फिर्ता दिन माग गर्दै परिसर बाहिर कंकाल राखेर धर्ना दिएका थिए।
घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेर मुन्डालाई समझाइबुझाइ गर्दै बैंक परिसर खाली गराएको थियो। साथै, कंकाललाई पुनः गाड्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
अधिकारीहरूले यस घटनालाई संवेदनशील रूपमा लिँदै बैंकसँग आवश्यक स्पष्टीकरण माग गरिएको र पीडितको समस्याको समाधानतर्फ पहल गरिने आश्वासन दिएका छन्।
प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया