लन्डन। विश्व बजारमा कच्चा तेलको मूल्य तीन हप्तापछि पहिलो पटक प्रति ब्यारेल ११० डलर नाघेको छ।
अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने सम्झौता अझै टुंगोमा नपुगेको आशंकाले बजारमा चिन्ता बढेपछि मूल्य उकालो लागेको हो।
तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुड मंगलबार बिहानको कारोबारमा २ दशमलव ७ प्रतिशतले बढेर प्रति ब्यारेल १११ डलर २ सेन्टमा पुगेको छ।
त्यस्तै अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) पनि २ दशमलव ३ प्रतिशतको वृद्धिसहित ९८ डलर ५ सेन्ट कायम भएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानको पछिल्लो प्रस्ताव स्वीकार गर्ने सम्भावना कम रहेको संकेत दिएका थिए।
उक्त प्रस्तावमा स्ट्रेट अफ होर्मुज पुनः खोल्ने कुरा उल्लेख भए पनि इरानको आणविक कार्यक्रमबारे निर्णय पछि गर्ने भनिएको छ।
अमेरिकी लगानी बैंक जेफ्रीजका प्रमुख युरोपेली अर्थशास्त्री मोहित कुमारका अनुसार, संकट लम्बिँदै जानु र स्ट्रेट अफ हर्मुज बन्द रहनुले तेल बजारमा नकारात्मक असर परिरहेको हो।
उनका अनुसार जति लामो समयसम्म स्ट्रेट बन्द रहन्छ, त्यति नै विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्नेछ।
प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया