काठमाडौं । बहुदल स्थापनापछि राजनीतिबाट छायाँमा परेको लामो समयपछि राप्रपाले मकवानपुरमा ‘कमब्याक’ गरेको छ ।
बहुदलपछि कम्युनिस्टहरूको प्रभाव बढ्दै जाँदा राप्रपाको संसदीय निर्वाचनमा लगातार पराजित हुँदै आएको थियो । राप्रपालाई २८ वर्ष अर्थात् २०५१ सालपछि जित दिलाउने दीपकबहादुर सिंह बनेका छन् । उनले दुई संसदीय निर्वाचन र दुई मेयर निर्वाचन लडेर पराजित भएपछि पाँचौँ पटकको प्रयासमा जित निकाले ।
राप्रपाले अन्तिम पटक २०५१ सालमा कमल थापा विजयी भएर जित निकालेको थियो । त्यसपछिका निर्वाचनमा न कमल थापा जिते न राप्रपाले नै जित्यो । त्यसयता राप्रपाबाट प्रत्यक्ष निर्वाचन जित्न नसकेका उनै थापालाई त्रिपक्षीय प्रतिस्पर्धामा तेस्रो स्थानमा पुर्याएर सिंह विजयी बनेका छन् । सिंहले कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई २ हजार ३ सय ९३ मतान्तरले हराउँदै चुनावी प्रतिस्पर्धामा सफल बने ।
चार पटक प्रत्यक्षतर्फ दुई पटक समानुपातिकमा निर्वाचन हारे पनि चुनावी प्रतिस्पर्धाबाट पछि नहटेका सिंह प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा २७ हजार ८ सय १६ मत ल्याएर निर्वाचित भए । डीनाले २५ हजार ४ सय २३ मत पाएकी थिइन् । थापाले २५ हजार ४ सय २० मत ल्याउँदा तेस्रो बने । देशभर वैकल्पिक शक्तिका रूपमा देखिएका दल र स्वतन्त्रहरूप्रति मतदाताले देखाएको उदारता सिंहलाई मकवानपुरमा मिलेको छ ।
प्रकाशित मिति: ८ मंसिर २०७९, बिहिबार
प्रतिक्रिया