काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता उनको वर्तमान कार्यकालमा सबैभन्दा तल्लो स्तरमा पुगेको बताइएको छ।
बेलायती पत्रिका द गार्जियन मा प्रकाशित रोयटर्स–इप्सोसको नयाँ सर्वेक्षणअनुसार ट्रम्पप्रति अमेरिकी नागरिकको समर्थन घट्दै गएको देखिएको हो।
सर्वेक्षणअनुसार अमेरिकीहरूको असन्तुष्टिको मुख्य कारण बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न ट्रम्प प्रशासन असफल भएको धारणा रहेको छ।
साथै इरानविरुद्धको युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढेकाले पनि जनमत प्रभावित भएको उल्लेख गरिएको छ।
चार दिनसम्म सञ्चालन गरिएको सर्वेक्षणमा ३४ प्रतिशत अमेरिकीहरूले मात्र ट्रम्पको काम सन्तोषजनक रहेको बताएका छन्।
यसअघि अप्रिल १५ देखि २० सम्म गरिएको सर्वेक्षणमा यो संख्या ३६ प्रतिशत थियो।
मुद्रास्फीतिसम्बन्धी कार्यसम्पादनमा ट्रम्पले २२ प्रतिशत मात्र समर्थन पाएका छन्, जबकि अघिल्लो सर्वेक्षणमा यो संख्या २५ प्रतिशत थियो।
नोभेम्बरमा हुने मध्यावधि चुनावमा अमेरिकी संसद कंग्रेसमा रिपब्लिकन पार्टी कमजोर हुन सक्ने चिन्ता पनि बढ्दै गएको बताइएको छ।
यद्यपि ७८ प्रतिशत रिपब्लिकन समर्थकहरूले अझै ट्रम्पलाई समर्थन गरे पनि ४१ प्रतिशत पार्टी सदस्य मुद्रास्फीति व्यवस्थापनप्रति असन्तुष्ट रहेको सर्वेक्षणले देखाएको छ।
प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार













प्रतिक्रिया