काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी मतपरिणाम आइरहेका बेलामा त्यसबारे प्रतिक्रिया दिएका छन्।

उनले चुनावी परिणामबारे पछि विश्लेषण गर्ने बताए। आज झापाको भद्रपुर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले चुनावमा जितेका उम्मेदवारहरूलाई बधाई र पराजित भएकालाई सहानुभूति रहेको बताए।

‘परिणामका बारेमा पछि विश्लेषण गरौंला। विजयीलाई बधाई र पराजित भएकालाई सहानुभूति छ। तर हराइएका र हराउन खोजिएकोमा असहमति राख्छु,’ ओलीले भने।

चुनावमा सत्ताको दुरूपयोग गरिएको ओलीको आरोप थियो।

‘बुथ कब्जा गर्ने, हत्या गर्ने र राज्य संयन्त्रको दुरूपयोग गर्ने प्रवृत्ति देखिए। आतंक फिजाउने प्रवृत्ति देखिए। हेलिकप्टरबाट गुन्डा ओसारेर प्रवृत्ति चिन्ताको विषय हो,’ उनले भने, ‘सत्ता संरक्षित र सत्ता प्रायोजित गुन्डागर्दी र बुथ क्पाप्चार, हिंसाजस्ता कुराहरू अशोभनीय र निन्दनीय छ।’

रवि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदयबारे पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै ओलीले यो मामुली कुरा भएको प्रतिक्रिया दिए।

‘त्यो ठूलो कुरा होइन मामुली कुरा हो। धेरै उदय भनेर प्रचार प्रोप्रोगान्डा गरियो त्यो वास्तवमा तपाईंहरूको कृपा हो। देशलाई गतल बाटोतिर लैजाँदै हुनुहुन्छ,’ ओलीले भने, ‘त्यो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को के गन्तब्य हो, के कार्यक्रम हो, के नीति हो थाहा छैन। हा हा हु हु मा त देश चल्दैन। हा हु मा देश लैजाने कुरा नेपालको हितमा छैन।’

ओली झापा ५ बाट निर्वाचित भएका हुन्। उनी विजयी सभालगायतमा सहभागी हुन आज झापा पुगेका छन्।

 

प्रकाशित मिति: ८ मंसिर २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com