काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकारका गतिविधिहरू लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक मर्मविपरीत अघि बढिरहेको टिप्पणी गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्षसमेत रहेका उनले सरकारका पछिल्ला कदमहरूले जनतामा निराशा र असन्तुष्टि बढाएको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।
बुधबार आयोजित २७औँ यदु स्मृति दिवस तथा २४औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले सरकारले ट्रेड युनियन अधिकार र विद्यार्थीहरूको संगठन बन्ने अधिकारमाथि हस्तक्षेप गरिरहेको आरोप लगाए। जनजीविकासँग सम्बन्धित मुद्दाहरूलाई सरकारले बेवास्ता गरेको र नागरिकका समस्याप्रति उदासीनता देखाएको उनको भनाइ थियो।
सरकार सञ्चालनका क्रममा संविधान र लोकतान्त्रिक मूल्य–मान्यता दुई प्रमुख आधारस्तम्भ भएको उल्लेख गर्दै उनले यी आधारलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुनेमा जोड दिए।
त्यस्तै, पछिल्लो समय संसदलाई बेवास्ता गर्दै अध्यादेशमार्फत शासन चलाउने प्रवृत्ति बढ्दै गएको भन्दै उनले त्यसप्रति पनि कडा आपत्ति जनाए।
प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार













प्रतिक्रिया