काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले माओवादी आन्दोलन वर्तमान अवस्थामा विघटनउन्मुख बनेको आरोप लगाएका छन्। बुधबार आयोजित २७औँ यदु स्मृति दिवस तथा २४औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्ता–केन्द्रित सोच र उग्रवामपन्थी प्रवृत्तिका कारण कम्युनिस्ट आन्दोलन कमजोर बनेको टिप्पणी गरे।
पौडेलका अनुसार प्रचण्डसँग अब कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने नैतिक र राजनीतिक आधार नरहेको छ। उनले २०६६ सालमा तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवाललाई हटाउने निर्णयप्रति एमालेले कडा विरोध जनाएको स्मरण गर्दै, त्यसबेला प्रचण्डले अडान नत्याग्दा सरकारको नेतृत्व गुमाउनुपरेको बताए।
उनले माओवादी शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेपछि पनि लोकतान्त्रिक मूल्य र प्रणालीलाई पूर्ण रूपमा आत्मसात् गर्न नसकेको आरोप लगाए। सत्ता कब्जाको मानसिकता नत्याग्दा पार्टी आज अस्तित्व संकटमा पुगेको उनको भनाइ थियो।
‘हिंसात्मक बाटोले कुनै उपलब्धि दिन सक्दैन, शान्तिपूर्ण जनआन्दोलनकै बलमा राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना भएको हो,’ उनले जोड दिए।
पौडेलले अहिलेको माओवादी संगठन आफ्नो मूल विचारधाराबाट विचलित भइसकेको दाबी गर्दै भने, ‘माओवादीले माओवाद र जनयुद्ध दुवै परित्याग गरिसकेको छ। तर स्पष्ट मार्गचित्रविना अघि बढ्दा नेतृत्व गर्ने क्षमता पनि गुमाएको छ।’
सरकारप्रति आलोचना गर्दै उनले पछिल्ला गतिविधि संविधान र लोकतान्त्रिक मूल्यविपरीत रहेको बताए। सरकारका निर्णयहरूले जनतामा निराशा बढाएको उल्लेख गर्दै उनले ट्रेड युनियन तथा विद्यार्थी संगठनहरूको अधिकारमाथि हस्तक्षेप भइरहेको आरोप लगाए।
‘संगठित हुने अधिकार लोकतन्त्रको आधारभूत मान्यता हो, तर सरकार त्यसकै विरुद्ध उभिएको देखिन्छ,’ उनले भने।
साथै, उनले संसद् छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रवृत्तिप्रति पनि आपत्ति जनाए।
पार्टीगत सन्दर्भमा पौडेलले पछिल्लो निर्वाचनमा बेहोर्नुपरेको पराजयलाई गम्भीर रूपमा लिँदै व्यापक समीक्षा गरेर एमालेलाई पुनर्गठन गर्ने प्रतिबद्धता व्यक्त गरे।
‘हामीले ठूलो धक्का बेहोरेका छौँ, तर यसबाट पाठ सिकेर अझ सशक्त रूपमा अघि बढ्छौँ,’ उनले भने।
उनका अनुसार पार्टीभित्र नेतृत्व, कार्यशैली, संगठन र नीतिगत पक्ष सबैको समग्र समीक्षा गरिनेछ र देखिएका कमजोरीप्रति सार्वजनिक रूपमा आत्मालोचना गरिनेछ।
पौडेलले आगामी दिनमा ‘जनताको बहुदलीय जनवाद (जबज)’ लाई मार्गदर्शक सिद्धान्तका रूपमा अद्यावधिक गर्दै अघि बढ्ने स्पष्ट पारे। उनका अनुसार यही विचारधाराले पार्टीलाई आफ्ना कमजोरी सच्याउँदै पुनः सशक्त बन्न मार्गदर्शन गर्नेछ।
प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार













प्रतिक्रिया