काठमाडौं। काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनमा महत्त्वपूर्ण मानिने चक्रपथ विस्तारको दोस्रो चरणका लागि नेपाल र चीन सरकारबीच बुधबार औपचारिक सहायता सम्झौता सम्पन्न भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले विशेष समारोहबीच सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै लामो समयदेखि प्रतीक्षामा रहेको कलंकीदेखि बसुन्धारासम्मको सडक विस्तार कार्य अघि बढ्ने भएको छ।

advertisement

यस परियोजनाअन्तर्गत ८.२ किलोमिटर सडक खण्डलाई आधुनिक स्वरूपमा विस्तार गरिनेछ। साथै सोही क्षेत्रमा आवश्यक पुल निर्माणसमेत गरिने जनाइएको छ। चीन सरकारले परियोजनाका लागि करिब ११ अर्ब रुपैयाँ बराबरको आर्थिक अनुदान उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

सम्झौता कार्यान्वयनका क्रममा देखिन सक्ने प्रशासनिक तथा कानुनी अड्चनलाई सरकारले गम्भीरतापूर्वक लिएको मन्त्री लम्सालले बताए। उनले परियोजनामा आउने समस्यालाई २४ घण्टाभित्र समाधान गर्दै आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री लम्सालले नेपालको उत्तर–दक्षिण सडक सञ्जाल विकास सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै आगामी दिनमा अन्य ठूला पूर्वाधार क्षेत्रमा समेत चीनबाट थप लगानी र प्राविधिक सहयोगको अपेक्षा रहेको बताए।

यसअघि पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार कार्य सन् २०१९ मा सम्पन्न भएको थियो। त्यसको निरन्तरताका रूपमा दोस्रो चरणको यो सम्झौतलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

हस्ताक्षर कार्यक्रममा चिनियाँ राजदूत झाङ माओमिङले नेपालको विकास निर्माणमा चीन सधैं साथमा रहने विश्वास व्यक्त गरे। उनले नेपालमा सुरक्षित र उपयुक्त लगानी वातावरण सुनिश्चित भएमा चिनियाँ लगानीकर्ता पूर्वाधार तथा उत्पादनशील क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताए।

यो परियोजनाले काठमाडौंको ट्राफिक जाम कम गर्न, सहरी आवागमन सहज बनाउन तथा नेपाल–चीन आर्थिक सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com