काठमाडौं । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा सञ्चालन गर्न देशभरका २०७ वटा पालिकाले रुचि देखाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सेवा हस्तान्तरणका लागि इच्छुक पालिकासँग आवेदन मागेपछि एक साताभित्रै यति संख्यामा निवेदन परेको हो।

मन्त्रालयका अनुसार बिहीबारसम्म धरान उपमहानगरपालिका सहित २०७ पालिकाले स्थानीय स्तरमै सेवा सञ्चालन गर्न तयार रहेको जानकारी गराएका छन्। इच्छुक पालिकामध्ये हुम्लाको सर्केगाड गाउँपालिका, इलामको चुलाचुली गाउँपालिका, सर्लाहीको चक्रघट्टा गाउँपालिका, कञ्चनपुरको बेलडाँडी गाउँपालिका, घोराही उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका, भरतपुर महानगरपालिका र पोखरा महानगरपालिका समेत रहेका छन्।

advertisement

मन्त्रालयले प्राप्त निवेदनमाथि अध्ययन सुरु गरिसकेको जनाएको छ। चरणबद्ध रूपमा सेवा हस्तान्तरण गर्ने योजना अनुसार पहिलो चरणमा केही पालिका छनोट गरी नापी तथा मालपोतसम्बन्धी सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने तयारी भइरहेको छ।

पालिका छनोट गर्दा सेवाग्राहीको चाप, भौगोलिक पहुँच र व्यवस्थापन क्षमतालाई आधार बनाइने जनाइएको छ। कम भिडभाड भएका तथा अत्यधिक सेवा चाप रहेका पालिकालाई प्राथमिकतामा राखिने मन्त्रालयले जनाएको छ।

यसैबीच इच्छुक पालिका रहेका जिल्लाका नापी तथा मालपोत कार्यालय प्रमुखहरूलाई तत्काल स्थानीय तहमा पुगेर स्थलगत अनुगमन गरी वस्तुस्थिति प्रतिवेदन बुझाउन मन्त्रालयले पत्राचार गरेको छ।

सेवा हस्तान्तरणसँगै स्थानीय तहलाई आवश्यक प्राविधिक सहयोग, जनशक्ति व्यवस्थापन, सामग्री आपूर्ति तथा कर्मचारीलाई तालिम–प्रशिक्षण दिने तयारी पनि मन्त्रालयले अघि बढाएको छ।

मन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार एक साताभित्र प्रारम्भिक तयारी पूरा गरी केही पालिकाबाट नापी र मालपोत सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com