काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उभौली पर्वलाई आफ्नो बाल्यकालसँग गहिरो रूपमा जोडिएको विशेष दिनका रूपमा स्मरण गरेका छन्।
लिम्बू समुदायको बाक्लो बसोबास रहेको तेह्रथुमको आठराई क्षेत्रमा बिताएको बाल्यकाल सम्झँदै उनले उभौली आफूका लागि केवल पर्व मात्र नभई सम्झनाले भरिएको अवसर भएको बताएका छन्। ‘मेरो लागि उभौली पर्व मात्रै होइन, बाल्यकालका अनुभूति र स्मृतिहरू जोडिने महत्वपूर्ण दिन पनि हो,’ उनले उल्लेख गरेका छन्।
ऋतु परिवर्तनसँगै जमिन, वन, जल, चराचुरुङ्गी र मानव जीवनमा आउने परिवर्तनलाई आफूले नजिकबाट अनुभव गरेको उनले बताएका छन्।
धान्यपूर्णिमाका अवसरमा पूर्वी नेपालका किरात समुदायले मनाउने उभौली पर्वको शुभकामना व्यक्त गर्दै ओलीले यस पर्वले उत्पादन, उर्वरता र प्रकृतिप्रतिको कृतज्ञता मात्र होइन, पुर्खाबाट प्राप्त ज्ञानप्रतिको सम्मान झल्काउने बताए।
उनले शुभकामना सन्देशमा भनेका छन्, ‘उभौलीले प्रकृतिप्रेम, सांस्कृतिक चेतना र पुर्खाको ज्ञानप्रतिको सम्मानलाई जीवन्त राख्छ। यसले पुस्तौंदेखि प्रकृतिसँग सहअस्तित्वमा आधारित जीवन दर्शनलाई निरन्तरता दिन मद्दत गर्दछ।’
प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया