काठमाडौं । पछिल्लो समय नेपालमा तीव्र गतिमा लोकप्रिय बन्दै गएको पिकलबल खेलले नयाँ उचाइ लिँदै गएको छ। यसै क्रममा काठमाडौंको लाजिम्पाटमा अवस्थित जेभियर एकेडेमीमा पिकलबल कोर्टको भव्य उद्घाटन समारोह सम्पन्न भएको छ। बुद्ध जयन्ती, अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा उभौली पर्वको शुभ अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रम उत्साहजनक वातावरणमा सम्पन्न भएको हो।
उद्घाटन समारोहमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षकद्वय सनत कुमार बस्नेत र शैलेन्द्र श्रेष्ठ, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक राजन अधिकारी, सशस्त्र प्रहरी बलका डीआईजी सुरेश कुमार श्रेष्ठ, पिकलबल एसोसियसन नेपालका अध्यक्ष सौरभ भण्डारी, जेभियर एकेडेमीका अध्यक्ष प्रा. डा. श्रीराम भगत माथे, सञ्चालक समिति सदस्य डा. प्रमोद बहादुर श्रेष्ठ, इम्पेरियल वर्ल्ड स्कुलका अध्यक्ष कुमार कार्की, अवकाशप्राप्त लेफ्टिनेन्ट कर्णेल फत्य बहादुर खड्का, चर्चित पत्रकार दिल भूषण पाठक तथा प्रमुख प्रशिक्षक कुमार प्रधान लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमले नेपालमा पिकलबल खेलप्रतिको बढ्दो आकर्षण र सम्भावनालाई थप उजागर गरेको छ। विद्यालयस्तरदेखि व्यावसायिक तहसम्म पिकलबल विस्तार गर्ने लक्ष्यसहित आयोजित यो पहललाई खेलकुद क्षेत्रका जानकारहरूले महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।
पिकलबल एसोसियसन नेपालका अध्यक्ष सौरभ भण्डारीले पिकलबलमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यका साथ अगाडि बढिरहेको बताए। उनले यस अभियानमा साथ दिने सम्पूर्ण अग्रदूत तथा सहयोगीहरूलाई धन्यवाद दिँदै आगामी दिनमा अझ व्यापक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा विशेष भूमिका निर्वाह गरेका सशस्त्र प्रहरी बलका डीआईजी सुरेश कुमार श्रेष्ठको योगदानलाई आयोजकहरूले विशेष रूपमा प्रशंसा गरेका छन्। साथै, जेभियर एकेडेमीका सहायक प्रीन्सिपल प्रकाश श्रेष्ठ तथा सम्पूर्ण विद्यालय परिवारले उत्कृष्ट व्यवस्थापन गरी कार्यक्रमलाई सफल बनाएकोमा सहभागीहरुले आभार व्यक्त गरेका छन्।
पछिल्लो समय युवापुस्तामाझ तीव्र रूपमा लोकप्रिय बन्दै गएको पिकलबलले नेपालमा नयाँ खेल संस्कृतिको विकास गर्ने संकेत देखिएको छ। यस उद्घाटनसँगै पिकलबलको क्रेज अझ तीव्र रूपमा फैलिने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार












प्रतिक्रिया