काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षित, भरपर्दो, समावेशी र दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता भएको बताएका छन्।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ का अवसरमा जारी शुभकामना सन्देशमा उनले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता र नागरिक सशक्तीकरणका लागि सूचना प्रविधि अब विकल्प नभई आधारभूत आवश्यकता बनिसकेको उल्लेख गरे। साथै, उनले सूचना प्रविधि क्षेत्रमा क्रियाशील उद्यमी, नवप्रवर्तक, प्राविधिक जनशक्ति, स्टार्टअप समुदाय, निजी क्षेत्र, अनुसन्धानकर्ता, विद्यार्थी तथा सबै सरोकारवालालाई शुभकामना व्यक्त गरे।

advertisement

सरकार ‘डिजिटल नेपाल’ निर्माणको लक्ष्यलाई कार्यान्वयन गर्दै सार्वजनिक सेवाहरूलाई थप सरल, पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउने दिशामा अघि बढिरहेको उनले बताए। मन्त्रालयले दीर्घकालीन सूचना प्रविधि रणनीति निर्माण तथा डिजिटल सार्वजनिक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै नागरिक एपलाई थप प्रभावकारी बनाइ एउटै डिजिटल प्लेटफर्ममार्फत आवश्यक सेवाहरू उपलब्ध गराउने व्यवस्था विस्तार गरिँदैछ।

उनका अनुसार नेपाललाई डिजिटल नवप्रवर्तन, सूचना प्रविधि सेवा, डाटा अर्थतन्त्र तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्यका साथ राष्ट्रिय एआई नीति, साइबर सुरक्षा नीति तथा सूचना प्रविधिसम्बन्धी कानुनी र संस्थागत सुधारलाई तीव्रता दिइएको छ।

त्यस्तै, देशभर उच्च गतिको ब्रडब्यान्ड इन्टरनेट विस्तार, सरकारी डाटा सेन्टर तथा डिजास्टर रिकभरी प्रणाली सुदृढीकरण, डिजिटल साक्षरता वृद्धि र दक्ष जनशक्ति उत्पादनमार्फत डिजिटल विभाजन घटाउँदै डिजिटल समावेशिता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उनले बताएका छन्।

प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com