काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह सँग विस्थापित सुकुमवासीका लागि ठोस र स्पष्ट ‘ज्ञ (ज्ञान) आधारित क्रान्ति’को योजना सार्वजनिक गर्न माग गरेका छन्।
प्रधानमन्त्री शाहले ‘वास्तविक क्रान्ति ज्ञानबाट सुरु हुन्छ’ भन्ने अभिव्यक्ति दिएपछि महासचिव पोखरेलले शनिबार सामाजिक सञ्जालमार्फत त्यसको व्यावहारिक खाका माग गरेका हुन्।
पोखरेलले विस्थापनको जोखिममा रहेका तथा असुरक्षा महसुस गरिरहेका सुकुमवासी नागरिकलाई स्पष्ट योजना, समयबद्ध पहल र विश्वास दिलाउने कदम आवश्यक रहेको उल्लेख गरेका छन्। उनले सरकारलाई मानवता, जिम्मेवारीबोध र दीगो समाधानतर्फ गम्भीर बन्न आग्रह गरेका छन्।
उनले प्रधानमन्त्रीतर्फ लक्षित गर्दै प्रश्न गरेका छन्, ‘ज्ञानबाट सुरु हुने भनिएको क्रान्ति अहिलेको संकटमा कसरी व्यवहारमा लागू हुँदैछ ? प्रभावित नागरिकलाई स्पष्ट योजना र भरोसा दिनु सरकारको दायित्व होइन र ?’
यसै सन्दर्भमा पोखरेलले २०७५ सालमा बारा–पर्सामा आएको विनाशकारी आँधीपछिको पुनर्स्थापनाको उदाहरण प्रस्तुत गरेका छन्। उनले तत्कालीन एमाले नेतृत्वको सरकारले छोटो समयमै आवास निर्माण गरी प्रभावितहरूलाई पुनर्स्थापना गरेको स्मरण गराउँदै वर्तमान सरकार पनि त्यस्तै प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार उक्त आँधीका कारण २८ भन्दा बढीको ज्यान गएको, ११५० भन्दा बढी घाइते भएका र करिब २५ सय घरमा क्षति पुग्दा हजारौं नागरिक घरवारविहीन बनेका थिए।
प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार













प्रतिक्रिया