काठमाडौं । नेपाली कांग्रेसका सभापति  गगनकुमार थापाले पार्टीको गौरवपूर्ण इतिहास, सिद्धान्त र अग्रज नेताहरूको योगदानलाई संस्थागत रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।

शनिबार नेता दमन पाख्रिन को जीवनीमा आधारित पुस्तक विमोचन तथा स्मृति कार्यक्रममा बोल्दै थापाले ‘पुरानो भनेको खराब र नयाँ भनेको मात्र राम्रो’ भन्ने धारणा समाजका लागि घातक भएको बताए।

advertisement

उनले अनुभव र विवेकलाई बेवास्ता गर्ने यस्तो सोचले समाजको आधार कमजोर बनाउने उल्लेख गर्दै नयाँ पुस्ताले आफ्नो इतिहास, संस्कृति र पुर्खाको योगदानप्रति गर्व गर्न छाडे राष्ट्रको अस्तित्व नै संकटमा पर्ने चेतावनी दिए।

थापाले नेपाली कांग्रेस को विरासत दमन पाख्रिन, दुर्गानन्द झा र रामनारायण मिश्रजस्ता योद्धाहरूको बलिदानमा आधारित रहेको स्मरण गराउँदै त्यसको संरक्षण गर्ने दायित्व पार्टीकै भएको बताए।

पार्टीभित्र सुशासन कायम गर्नुपर्नेमा जोड दिँदै उनले सार्वजनिक पदमा रहेका कांग्रेसका प्रतिनिधिहरूलाई इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए। अवैध आर्थिक संकलन अस्वीकार्य हुने र पार्टी सञ्चालन लेभी प्रणालीबाटै हुनुपर्ने उनको स्पष्ट भनाइ थियो।

‘स्थानीय तहदेखि प्रदेश सरकारसम्म जिम्मेवारीमा रहेका कसैले पनि अनियमितता गरेको पाइए स्वीकार्य हुँदैन,’ उनले भने, ‘सुशासनका विषयमा पार्टीले शून्य सहनशीलताको नीति अवलम्बन गर्नेछ।’

सभापति थापाले आगामी सातादेखि सातै प्रदेशको भ्रमण गर्ने योजना सुनाउँदै प्रदेश तथा स्थानीय तहका नेतृत्वसँग नीति, कार्यक्रम, बजेट र सुशासनका विषयमा छलफल गर्ने जानकारी दिए। साथै, स्थानीय तहका प्रतिनिधिहरूसँग वर्तमान आर्थिक अवस्था र प्राथमिकताबारे विस्तृत संवाद गरिने उनले बताए।

पार्टीभित्र व्यापक एकताको आवश्यकता औँल्याउँदै उनले नेतृत्वको हैसियतले सबै पक्षलाई समेट्न आफू लचिलो र उदार बन्न तयार रहेको उल्लेख गरे।

‘कांग्रेसभित्र मात्र होइन, बाहिर रहेका जनसमूह र नयाँ पुस्तालाई पनि पार्टीसँग जोड्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘८० वर्षका ज्येष्ठ नागरिकदेखि २५–३० वर्षका युवासम्मलाई समेटेर कांग्रेसलाई सबै वर्ग, समुदाय र पुस्ताको साझा पार्टी बनाउनु हाम्रो लक्ष्य हो।’

विभिन्न नेताहरूका नाममा स्थापित प्रतिष्ठानहरूलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टीले विशेष पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com