काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्न चाहनेले अनिवार्य रूपमा ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ दुवै कार्यक्रम पूरा गर्नुपर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो व्यवस्था लागू गर्ने निर्णय गरेको प्रवक्ता मनिष झा ले जानकारी दिएका छन्।
पार्टीका अनुसार स्थानीय तहका उम्मेदवार छनोटमा बढ्दो आकांक्षी संख्या व्यवस्थापन गर्न तथा योग्य नेतृत्व तयार गर्न ‘क्यान्डिडेट क्लब’ को अवधारणा ल्याइएको हो। यसमार्फत उम्मेदवारहरूको क्षमता मूल्याङ्कन र प्रशिक्षण प्रक्रिया अघि बढाइनेछ।
यसै विषयमा हालै बसेको संसदीय दलको बैठकले उम्मेदवार छनोटको रूपरेखा तथा ‘क्यान्डिडेट क्लब सम्पादन समिति’ समेत गठन गरेको छ। उक्त समितिको संयोजकमा सह–महामन्त्री विपिनकुमार आचार्य रहेका छन् भने सचिवमा केन्द्रीय सदस्य आरके ढुंगाना तोकिएका छन्। समितिमा संघीय सांसदसहित पाँच जना सदस्य रहेका छन्।
रास्वपाले आगामी निर्वाचनलाई लक्षित गर्दै अहिलेबाटै संगठनात्मक र प्राविधिक तयारी तीव्र पारेको जनाएको छ। २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनपछि पाँच वर्षे कार्यकाल आगामी २०८४ सालमा सकिने भएकाले पार्टीले स्थानीय र प्रदेश तह दुवै निर्वाचनलाई ध्यानमा राखेर दीर्घकालीन रणनीति अघि बढाएको हो।
प्रकाशित मिति: २० बैशाख २०८३, आइतबार












प्रतिक्रिया