धनगढी । कैलालीमा सशस्त्र प्रहरीका एक प्रशिक्षार्थी जवानको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा दार्चुलाको नौगाड गाउँपालिका–१ निवासी महेश महता रहेका छन्।
सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको बडिमालिका जवान तालिम शिक्षालय बनबेहडामा तालिमरत रहेका महता अचानक अस्वस्थ भएपछि अस्पताल पुर्याइएको थियो। शिक्षालयका अनुसार आइतबार राति करिब १:३० बजे उनको टाउको र छाती दुख्न थालेपछि उनलाई तत्काल अत्तरिया स्थित सशस्त्र प्रहरीको फिल्ड अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई अत्तरिया अस्पताल रिफर गरिएको थियो।
उपचारकै क्रममा सोमबार बिहान करिब ४:३० बजे उनी बेहोस भएका थिए भने चिकित्सकले करिब ५:१५ बजे उनलाई मृत घोषणा गरेका थिए।
फागुन महिनादेखि तालिममा सहभागी महता यसअघि स्वस्थ अवस्थामा रहेको बताइएको छ। अचानक स्वास्थ्य समस्या देखिएपछि उनको ज्यान गएको सशस्त्र प्रहरीले जनाएको छ।
हाल उनका बुवा दार्चुलाबाट धनगढीतर्फ आइरहेका छन्। परिवारका सदस्य आइपुगेपछि मात्रै शव परीक्षण लगायतका प्रक्रिया अघि बढाइनेछ। महताको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार













प्रतिक्रिया