एजेन्सी । इरानले रणनीतिक रूपमा अत्यन्त संवेदनशील स्ट्रेट अफ होर्मुज क्षेत्रमा अमेरिकी युद्धपोतहरूको प्रवेश रोकिएको दाबी गरेको छ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार सोमबार उक्त जलमार्गतर्फ अघि बढेका अमेरिकी युद्धपोतहरूलाई प्रवेश गर्न नदिइएको हो। इरानी समाचार एजेन्सी फार्सले जास्क टापु नजिक चेतावनी बेवास्ता गरेपछि अमेरिकी युद्धपोततर्फ दुई मिसाइल प्रहार गरिएको दाबीसमेत गरेको छ। तर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स ले यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको जनाएको छ।
यस घटनाबारे अमेरिकी पक्षबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। यसअघि नै इरानले उक्त क्षेत्र प्रवेश नगर्न अमेरिकी सेनालाई चेतावनी दिएको थियो।
यसैबीच डोनाल्ड ट्रम्प ले खाडी क्षेत्रमा युद्धका कारण अड्किएका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने योजना रहेको बताएका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका ती जहाजहरूलाई सुरक्षित मार्गदर्शन गरी व्यापारिक गतिविधि पुनः सञ्चालनमा सहयोग गर्ने बताएका हुन्, तर विस्तृत योजना भने सार्वजनिक गरेका छैनन्।
इरानको संयुक्त कमान्डले भने सबै व्यावसायिक जहाज र तेल ट्याङ्करहरूलाई सैन्य समन्वयबिना कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ। कमान्ड प्रमुख अली अब्दोल्लाहीले उक्त जलमार्गको सुरक्षा इरानकै नियन्त्रणमा रहेको र सुरक्षित आवागमन इरानी सशस्त्र बलसँगको समन्वयमा मात्रै सम्भव हुने बताएका छन्।
इरानले विदेशी सैन्य हस्तक्षेपप्रति कडा चेतावनी दिँदै विशेषगरी अमेरिकी सेना उक्त क्षेत्रमा प्रवेश गरे आक्रमण गरिने जनाएको छ। युद्ध सुरु भएयता इरानले आफ्ना जहाजबाहेक अन्य अधिकांश जहाजहरूको आवागमन सीमित बनाएको छ, जसले विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्तिमा असर पुर्याएको बताइएको छ। यसका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
यता अमेरिकी सेनाको मध्य कमान्ड (सेन्टकम) ले भने उद्धार तथा सुरक्षा अभियानका लागि १५ हजार सैनिक, १०० भन्दा बढी हवाई तथा समुद्री साधन, युद्धपोत र ड्रोन परिचालन गर्ने जनाएको छ। कमान्डर एडमिरल ब्राड कूपरका अनुसार उक्त अभियानले क्षेत्रीय सुरक्षा र विश्व अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार













प्रतिक्रिया