काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा खत्रीले न्यायका लागि नागरिकले कहिलेसम्म सडक संघर्ष गर्नुपर्ने हो भन्दै सरकारसँग कडा प्रश्न उठाएकी छन्।
सोमबार प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले ७६ जनाको ज्यान गएको घटनाका पीडित परिवारले अझैसम्म न्याय नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।
रचना खतिवडा का अनुसार पीडित परिवारहरू विगत ६–७ महिनादेखि निरन्तर आन्दोलनमा छन् र न्यायको खोजीमा सडकमा उत्रिन बाध्य भएका छन्। मन्त्रीहरूलाई सम्बोधन गर्दै उनले पीडितप्रति संवेदनशील बन्न र उनीहरूको मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्न आग्रह गरिन्।
‘७६ जनाको ज्यान गएको घटनामा एक जना संसदमा हुनुहुन्छ भने बाँकी ७५ जना अझै न्यायका लागि सडकमा छन्,’ उनले भनिन्, ‘आफ्ना माग लिएर मन्त्रीको कार्यकक्षसम्म पुग्दा समेत सुरक्षाकर्मीबाट दुर्व्यवहार सहनुपरेको अवस्था अत्यन्त दुःखद् छ। बालबालिकासमेत न्यायका लागि सडकमा उत्रिनुपर्ने अवस्था कहिलेसम्म रहने हो ? शहीद परिवारले कहिले न्याय पाउँछन् ?’
सांसद खतिवडाले न्याय प्राप्तिका लागि सधैं आन्दोलन नै गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताउँदै राज्यका निकायबाट सहज र प्रभावकारी रूपमा न्याय दिलाउनुपर्नेमा जोड दिइन्।
प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार












प्रतिक्रिया