काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत प्रभावबाट पूर्ण रूपमा मुक्त गर्ने महत्वाकांक्षी घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको धारणा अनुसार उनले वर्षौँदेखि जरा गाडेर बसेको विद्यार्थी राजनीति र कर्मचारीतन्त्रको पार्टीकरणले राज्य प्रणालीलाई कमजोर बनाएको स्पष्ट पारेका छन्।

प्रधानमन्त्री शाहले पत्रकार, राजनीतिक वृत्त र सर्वसाधारणबाट लामो समयदेखि उठ्दै आएको असन्तुष्टिलाई सम्बोधन गर्दै सरकारले अध्यादेशमार्फत यी विकृतिहरू अन्त्य गर्ने निर्णय लिएको जानकारी दिए। उनका अनुसार अब शिक्षालयमा दलगत झण्डा र कर्मचारीतन्त्रमा राजनीतिक आबद्धताको अभ्यास पूर्ण रूपमा निषेध गरिनेछ।

advertisement

उनले विगतमा विद्यार्थी तथा कर्मचारी संगठनहरू आफ्नो पेसागत उद्देश्यभन्दा बढी राजनीतिक दलका ‘स्लीपर सेल’का रूपमा प्रयोग भएको आरोप लगाए। योग्यताभन्दा पहुँच र क्षमताभन्दा दलगत झण्डा तथा झोलाको मूल्य बढ्दा प्रणालीप्रति जनविश्वास कमजोर बनेको उनको भनाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टी ले उठाएको यो अभियान संगठन विस्तारको अभावका कारण नभई शिक्षा क्षेत्रको गुणस्तर सुधार र कर्मचारीको मर्यादा जोगाउने उद्देश्यले अघि बढाइएको उनले स्पष्ट पारे। ‘चाहेमा तत्कालै ठूला संगठन खडा गर्न सकिन्छ, तर नयाँ दलगत संरचना थपिँदैमा सुधार सम्भव हुँदैन भन्ने कुरा विगतले प्रमाणित गरिसकेको छ,’ उनले उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले यो कदमले कसैको अधिकार हनन नगर्ने, बरु पेसागत स्वतन्त्रता अझ सुदृढ हुने विश्वास व्यक्त गरे। अब नियुक्ति, सरुवा र बढुवा प्रक्रियामा दलगत निकटता होइन, विधि, क्षमता र दक्षतालाई मात्र प्राथमिकता दिइने उनको प्रतिबद्धता छ।

उनले विद्यार्थीलाई नेताको भीडबाट होइन, शिक्षकबाट राजनीति र जीवनको पाठ सिक्नुपर्ने तथा कर्मचारीले नेताको प्रभावभन्दा विधि र कानुनको मार्ग अनुसरण गर्नुपर्नेमा जोड दिएका छन्। यो कुनै दलविरुद्धको अभियान नभई समग्र प्रणाली सुधार र भविष्य संरक्षणको प्रयास भएको उनको तर्क छ।

देशलाई दलगत नियन्त्रणबाट मुक्त गर्दै संस्थागत प्रणाली सुदृढ बनाउन शिक्षालय र कर्मचारीतन्त्रलाई शुद्धीकरण गर्नु अपरिहार्य भएको प्रधानमन्त्री शाहको भनाइ छ। ‘परिवर्तन भाषणले होइन, ठोस निर्णयले आउँछ,’ भन्दै उनले जनचाहनाअनुसार कठोर कदम चालिएको स्पष्ट पारे।

‘हामीले गर्ने हरेक निर्णय आम नेपालीको हितमा हुनेछ, ढुक्क रहनुहोस्,’ भन्दै प्रधानमन्त्री शाहले यस ऐतिहासिक पहलका लागि सम्पूर्ण नागरिकको साथ र विश्वासको अपेक्षा गरेका छन्।

 

प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com