काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्यवृद्धि मा अन्तर्राष्ट्रिय बजारको प्रत्यक्ष प्रभाव रहेको स्पष्ट पारेका छन्।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले नेपाल आयल निगमले हाल ठूलो आर्थिक घाटा बेहोर्दै इन्धन आपूर्ति गरिरहेको जानकारी दिए।
उनका अनुसार विगतमा लागू गरिएको स्वचालित मूल्य प्रणाली रूस–युक्रेन युद्धका कारण प्रभावित भएको थियो।
युद्धका समयमा अन्तर्राष्ट्रिय बजारमा मूल्य अत्यधिक बढेपछि नेपालमा सोही अनुपातमा मूल्य समायोजन गर्न नसक्दा निगमले एक समय पेट्रोलमा प्रतिलिटर १०० रुपैयाँभन्दा बढी घाटा व्यहोर्नु परेको उनले उल्लेख गरे।
सचिव राउतले नेपालले भारतको भारतीय आयल कर्पोरेसन (आईओसी) बाट इन्धन खरिद गर्ने र आईओसीले प्रत्येक १५ दिनमा पठाउने मूल्यसूची तथा रिफाइनरी शुल्कका आधारमा नेपालमा मूल्य निर्धारण हुने व्यवस्था रहेको बताए।
उनका अनुसार विशेषगरी खाना पकाउने ग्यासमा अझै पनि ठूलो वित्तीय दबाब कायम छ।
हाल १४.२ केजीको एक सिलिन्डर एलपी ग्यासमा करिब १,१४२ रुपैयाँ घाटा रहेको तथ्यांक उनले प्रस्तुत गरे।
पछिल्लो पटक १५० रुपैयाँ मूल्य वृद्धि भए पनि प्रतिसिलिन्डर अझै करिब १,००० रुपैयाँ घाटा कायम रहेको उनले जानकारी दिए। यो घाटा हाल राज्यले नै वहन गरिरहेको उनको भनाइ छ।
अन्तर्राष्ट्रिय बजारमा गत भदौदेखि नै मूल्य बढ्न थालेको र नेपालमा चाडपर्व तथा निर्वाचन जस्ता संवेदनशील अवस्थाका कारण मूल्य समायोजनमा दबाब रहेको सचिव राउतले स्पष्ट पारे।
उनका अनुसार अन्तर्राष्ट्रिय दर र आईओसीको मूल्यसूचीअनुसार समायोजन गर्नु नेपाल आयल निगमको बाध्यता बनेको छ।
प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया