काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले विश्वविद्यालयहरूमा क्रियाशील दलीय विद्यार्थी संगठनहरू हटाउने निर्णय गरेको छ। सरकारको प्रस्तावअनुसार अब तिनको स्थानमा ‘स्टुडेन्ट काउन्सिल’ गठन गरिने धारणा अघि सारिएको छ।
यो व्यवस्था प्रधानमन्त्रीको दल राष्ट्रिय स्वतन्त्र पार्टी को वाचापत्रमै समावेश गरिएको थियो। तर उक्त निर्णयप्रति विशेषगरी परम्परागत राजनीतिक दलहरू तथा तिनका विद्यार्थी संगठनहरूले तीव्र असन्तुष्टि जनाउँदै विरोध गरिरहेका छन्।
सरकारको यस कदमलाई लिएर सार्वजनिक बहस तीव्र बनेको छ—एकातिर समर्थन, अर्कोतिर विरोध। प्रधानमन्त्री शाहले मंगलबार सामाजिक सञ्जालमार्फत विद्यार्थीले नेताभन्दा गुरुको मार्गदर्शनमा अघि बढ्नुपर्ने सन्देश पुनः दोहोर्याएका छन्।
यसैबीच, अभिनेता दीपकराज गिरीले सरकारको निर्णयप्रति समर्थन जनाएका छन्। विगतमा आफू पनि विद्यार्थी राजनीतिमा संलग्न रहेको स्मरण गर्दै उनले त्यस्तो अभ्यासले आफूलाई न त सक्षम नेता बनायो, न राम्रो विद्यार्थी नै—बरु पार्टीप्रति निष्ठा सिकायो तर देशप्रति जिम्मेवारीको भावना विकास गर्न नसकेको टिप्पणी गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एक समय म पनि विद्यार्थी राजनीतिमा थिएँ, तर हाम्रा गतिविधि प्रायः पार्टीकै कार्यक्रममा सीमित हुन्थे। त्यसले मलाई न राम्रो नेता बनायो, न राम्रो विद्यार्थी। पार्टीभक्ति सिकायो, तर देशभक्ति कहिल्यै सिकाएन।’
कामको सिलसिलामा भने दीपकराज गिरी अहिले आफ्नो आगामी चलचित्र छ माया छपक्कै २ को तयारीमा व्यस्त रहेका छन्।
प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया