काठमाडौं  । काठमाडौंमा सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको अवस्थाबारे आवाज उठाउँदै कुलमान घिसिङ ले सरकारसँग दीर्घकालीन र मानवीय समाधानको माग गरेका छन्।

उज्यालो पार्टी नेपाल का अध्यक्ष कुलमान घिसिङ ले कीर्तिपुरस्थित सुकुम्बासी सेल्टर (होल्डिङ सेन्टर) को स्थलगत निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै विस्थापितहरूको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले उचित व्यवस्थापनबिना सुकुम्बासी हटाइनु दुःखद् भएको बताए।

advertisement

उनका अनुसार सरकारले बस्ती हटाउने क्रममा पूर्वतयारी नगरी “उल्टो बाटो” अपनाउँदा समस्या झन् जटिल बनेको छ। सेल्टरमा रहेका परिवारहरूको अवस्था अत्यन्त कष्टकर रहेको उल्लेख गर्दै उनले एउटै टेन्टमा धेरै परिवार कोच्चिएर बस्नुपर्ने बाध्यता रहेको बताए, जुन स्वास्थ्य र सामाजिक दृष्टिले जोखिमपूर्ण छ।

घिसिङले बालबालिकाको शिक्षामा पनि असर परेको जनाए। धेरै बालबालिका ढिलो गरी विद्यालय जान थालेका छन् भने कतिपयको परीक्षा समेत प्रभावित भएको उनले बताए। साथै स्वास्थ्योपचारमा कठिनाइ, रोजगारी गुम्नु र बैंकको ऋणको ब्याज तिर्न नसक्दा विस्थापितहरू मानसिक तनावमा रहेको उनको भनाइ छ।

उनले सरकारलाई तत्काल विस्थापितहरूलाई सुरक्षित स्थानमा सारेर दीर्घकालीन व्यवस्थापन गर्न आग्रह गरे। सुकुम्बासी समस्या देशव्यापी रहेको उल्लेख गर्दै उनले वास्तविक सुकुम्बासी र सरकारी जग्गा कब्जा गर्ने सम्पन्न वर्गबीच स्पष्ट पहिचान आवश्यक रहेको बताए।

संविधानले प्रत्याभूत गरेको आवास र भूमिको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै घिसिङले शिक्षा, स्वास्थ्य र रोजगारीलाई समेटेर एकीकृत र दीगो व्यवस्थापनको योजना ल्याउन सरकारसँग माग गरेका छन्।

प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com