काठमाडाैं । नेकपा एमालेभित्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतृत्वलाई लिएर विवाद चुलिँदै जाँदा पार्टी अध्यक्ष केपी शर्मा ओली समाधान खोज्न सक्रिय बनेका छन्।
विवाद समाधानका लागि ओलीले सुदूरपश्चिमका एमाले प्रदेशसभा सदस्यहरूलाई काठमाडौँ बोलाएका छन्। यसक्रममा बुधबार भक्तपुरको गुण्डुमा अध्यक्ष ओली र प्रदेशसभा सदस्यहरूबीच निर्णायक छलफल हुने तय भएको छ। छलफलमा संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावल सहित सबै ११ जना एमाले सांसद सहभागी हुनेछन्।
एमाले संसदीय दलभित्र लामो समयदेखि रावलको कार्यशैलीप्रति असन्तुष्टि देखिँदै आएको छ। निर्वाचन परिणाम सार्वजनिक भएदेखि नै सांसदहरूको एक समूहले नेतृत्व परिवर्तनको माग उठाउँदै आएको हो। उनीहरूले सहमतिमा नेतृत्व परिवर्तन नभए लोकतान्त्रिक प्रक्रियाबाट नयाँ नेता चयन गर्नुपर्ने अडान लिएका छन् र यही विषय अध्यक्ष ओलीसमक्ष राख्ने तयारी गरेका छन्।
यस बैठकमा संसदीय दलको नेतृत्व मात्र होइन, सुदूरपश्चिम प्रदेश सरकारको भविष्य र सम्भावित नयाँ सत्ता समीकरणबारे पनि गम्भीर छलफल हुने संकेत देखिएको छ। हाल सुदूरपश्चिममा कमलबहादुर शाह नेतृत्वको सरकार छ, जसमा एमाले र नेपाली कांग्रेसबीच गठबन्धन रहेको छ। तर पछिल्लो समय एमालेभित्र कांग्रेससँगको सहकार्यप्रति असन्तुष्टि बढ्दै गएको बताइन्छ।
पार्टी स्रोतका अनुसार कांग्रेससँगको सहकार्य तोडेर अन्य वाम दलहरूसँग नयाँ समीकरण बनाउने विषयमा पनि केन्द्र तहमा छलफल भइरहेको छ। सुदूरपश्चिम प्रदेशसभामा एमालेका ११ र अन्य वाम शक्तिका करिब २२ सांसद रहेका कारण नयाँ समीकरण बनेमा सरकार परिवर्तनको सम्भावना पनि बलियो देखिन्छ।
यद्यपि, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की ले संसदीय दलको नेताको विषयमा छलफल भइरहेको पुष्टि गरे पनि सरकार परिवर्तनबारे तत्काल कुनै ठोस निर्णय नभएको बताएका छन्। उनका अनुसार केन्द्रबाट आउने निर्णयअनुसार नै प्रदेशमा कदम चालिनेछ।
यसरी, सुदूरपश्चिममा एमालेभित्रको आन्तरिक विवाद मात्र होइन, समग्र सत्ता समीकरणमै परिवर्तन आउने संकेत देखिएको छ, जसको निर्णय आगामी छलफलबाट स्पष्ट हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार













प्रतिक्रिया