काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले कृषि क्षेत्रमा बिचौलियाको प्रभाव बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

बुधबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले उत्पादन स्थल र बजार मूल्यबीच ठूलो अन्तर देखिएकाले वास्तविक किसानहरू ठूलो मारमा परेको बताइन्।

advertisement

उनका अनुसार बजारमा उपभोक्ताले प्रतिदर्जन ३५० रुपैयाँ तिरेर किन्नुपर्ने केराको मूल्य किसानले मात्र ६५ रुपैयाँ पाउने अवस्था छ। ‘बीचको मूल्य कसले लुटिरहेको छ?’ भन्दै उनले प्रश्न उठाइन्।

सांसद आशिका तामाङले कृषि क्षेत्रमा बिचौलिया र अनियमितताका कारण वास्तविक किसान ऋणको चपेटामा परेको उल्लेख गरिन्। उनले कृषि उपज नष्ट हुने समस्या समाधानका लागि प्रत्येक स्थानीय तहमा भण्डारण गृह (स्टोरेज) र प्रशोधन केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता औँल्याइन्।

‘किसानले सडकमा दूध र गोलभेँडा फाल्नुपर्ने अवस्था अत्यन्त दुःखद छ,’ उनले भनिन्, ‘यदि पालिकास्तरमै भण्डारण र प्रशोधन व्यवस्था भए गोलभेँडाबाट केचअप जस्ता उत्पादन बनाएर किसानको लगानी सुरक्षित गर्न सकिन्छ।’

उनले रासायनिक मल वितरण प्रणालीमा पनि गम्भीर समस्या रहेको बताइन्। वास्तविक किसानले लामो समय लाइन बस्दा पनि मल नपाउने तर खेती नगर्ने व्यक्तिका घरमा धेरै बोरासम्म मल थुप्रिने अवस्था रहेको उनको भनाइ थियो।

सहकारीमार्फत हुने वितरण प्रणालीलाई पारदर्शी र किसानमैत्री बनाउनुपर्नेमा पनि उनले जोड दिइन्। साथै, माटोको उर्वराशक्ति जोगाउन प्राङ्गारिक मलको प्रयोग र जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताइन्।

आफूहरू जनताको समस्या बोकेर संसद्मा पुगेको उल्लेख गर्दै उनले नीतिगत सुधारका लागि विज्ञहरूको सुझावअनुसार काम गर्न रास्वपा तयार रहेको पनि स्पष्ट पारिन्।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com