काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालका सबै राष्ट्रिय स्तरका निजामती कर्मचारी तथा स्वास्थ्य सेवाका ट्रेड युनियनहरू खारेज गरेको छ।
विभागले बुधबार सार्वजनिक सूचना जारी गर्दै हालै सरकारले ल्याएको अध्यादेशका आधारमा युनियनहरूको दर्ता खारेज गरिएको जनाएको हो।
निर्णय निजामती सेवा ऐन, २०४९ (दोस्रो संशोधन, २०६४) तथा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ (चौथो संशोधन, २०७०) अन्तर्गत दर्ता भई क्रियाशील रहेका सबै राष्ट्रिय ट्रेड युनियनहरूमा लागू हुने विभागले स्पष्ट पारेको छ।
विभागका प्रवक्ता इन्जिनियर मणिनाथ गोपका अनुसार संवत् २०८३ सालको अध्यादेश नम्बर ७ ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ लाई आधार मानेर यो निर्णय गरिएको हो।
यो निर्णयसँगै लामो समयदेखि सक्रिय रहेका विभिन्न कर्मचारी तथा स्वास्थ्यकर्मी संगठनहरूको राष्ट्रिय स्तरको मान्यता समाप्त भएको छ।
खारेजीमा परेका निजामती कर्मचारी युनियनहरूमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल रहेका छन्।
त्यस्तै स्वास्थ्य सेवा क्षेत्रतर्फ नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन पनि खारेज भएको विभागले जनाएको छ।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार













प्रतिक्रिया