काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले औपचारिक शपथग्रहणको दिन वा त्यसअगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने भएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अहिलेकाे चुनावमा ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ खर्च भएकाे देखिएको र पछिसम्मका लागि सोचेर खरिद गरीएका अतिरिक्त कार्यालय सामग्रीहरूको हिसाब नजोडिएको जनाएका हुन् ।
त्यस्तै उनले कार्यकालभरी कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने, सबै संघ संस्थाहरूको हकहितको नितिगत काममा दिलोज्यानले लाग्ने तर ती कार्यक्रमहरूको उद्घाटन, आसनग्रहण र भाषणहरूमा सहभागी नहुने बताएका छन् ।
त्यसैगरी उनले मिडियाहरूमा अन्तर्वार्ता दिने र पार्टीका नीतिहरू बारे बोल्ने जिम्मा पार्टीका अन्य व्यक्तिलाई दिइएकोले प्रवक्ता तथा सूचना अधिकारीहरूले यसमा सहयोग गर्ने स्पष्ट पारेका छन् ।
लामिछानेले प्रत्यक चार/चार महिनामा सार्वजनिक सुनुवाई गरेर नागरिकलाई जवाफ दिन भने आफैँ उपस्थित हुने जानकारी पनि दिएका छन् । त्यस्तै उनले शपथ ग्रहणलगत्तै आफ्नो नम्बर सबैका लागि सार्वजनिक गर्ने र त्यतिञ्जेलका लागि आफ्ना गुनासो वा सुझाव भए लिखित रूपमा भरतपुर ११ स्थित घरमा राखिएको ‘भन्नुहोस् के सेवा गरौँ’ लेखिएको बाकसमा खसाउनु अनुरोध गरेका छन् ।
प्रकाशित मिति: १० मंसिर २०७९, शनिबार
प्रतिक्रिया