काठमाडौँ । केन्द्रीय कारागार सुन्धाराबाट आन्दोलनका क्रममा फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई प्रहरीले काभ्रेको पाँचखलबाट पुनः पक्राउ गरेको छ।

खोटाङको दिप्सुङ गाउँपालिका–४ स्थायी घर भई हाल काभ्रेको पाँचखल नगरपालिका–७ शिखरपुर बस्दै आएका ४३ वर्षीय धिरज भनिने मोतिधन राईलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। उनलाई पाँचखल नगरपालिका–७ शिखरपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

advertisement

पक्राउ परेका राईलाई आवश्यक कानुनी कारबाहीका लागि केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारा पठाइएको छ।

प्रहरीका अनुसार वि.सं. २०७५ भदौ ३ गते बिहान करिब ६ बजे काठमाडौँको टोखा नगरपालिका–४ विष्णुमती पुलस्थित एक बंगुर फार्ममा छत्र सिंह राईलाई बाँसको लाठीले कुटपिट गरी हत्या गरिएको थियो। उक्त घटनामा संलग्न रहेको ठहर गर्दै काठमाडौँ जिल्ला अदालतले वि.सं. २०७६ असोज १ गते मोतिधन राईलाई जन्मकैद अर्थात् २५ वर्ष कैद सजाय सुनाएको थियो।

अदालतको फैसलापछि केन्द्रीय कारागार भद्रबन्दी गृह सुन्धारामा कैद भुक्तान गरिरहेका राई गत वर्ष २०८२ भदौ २४ गते आन्दोलन र झडपको मौका छोपेर फरार भएका थिए। फरार भएपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार विशेष सुराकी टोलीले उनलाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो।

प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com