काठमाडौँ । जेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कलाकार सीताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे (सुन्तली) र उनीहरूका नातेदार कृष्ण घिमिरेमाथि ऋण नतिरेको आरोप लगाएको छ।

सहकारीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अपिलमा करिब ७० लाख रुपैयाँ ऋण नतिरी उनीहरू विदेशमा बस्दै आएको दाबी गरिएको छ।

advertisement

सहकारीका अनुसार धुर्मुस–सुन्तली फाउन्डेसनका सञ्चालक सदस्य तथा सीताराम कट्टेलका सालो कृष्ण घिमिरेको नाममा ६ महिनाका लागि कर्जा प्रवाह गरिएको थियो। चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका क्रममा आर्थिक अभाव भएपछि दैनिक संकलित सहयोग रकमबाट ऋण तिर्ने सर्तमा रकम उपलब्ध गराइएको सहकारीले जनाएको छ।

सहकारीले जारी गरेको विज्ञप्तिमा कृष्ण घिमिरे हाल बेलायतमा रहेको र ऋण तिर्न आग्रह गर्दा “भिनाजुसँग कुरा गर्नुस्” वा “महानगरले तिर्छ” भन्ने जस्ता जवाफ दिने गरेको उल्लेख छ।

त्यस्तै, सीताराम कट्टेल र कुन्जना घिमिरे हाल अमेरिकामा रहेको र त्यहाँ घर खरिद गरी बसोबास गरिरहेको तस्बिर सार्वजनिक भए पनि ऋण चुक्ता गर्न चासो नदिएको सहकारीको आरोप छ।

सहकारीले तीन वर्षदेखि सदस्यहरूको बचत फिर्ता गर्न नसकेको भन्दै करिब ७० लाख रुपैयाँ असुल गर्न बाँकी रहेको जनाएको छ। साथै, ऋण नतिरे कानुनी प्रक्रिया अघि बढाउने चेतावनी समेत दिएको छ।

प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com