काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पछिल्लो निर्वाचन परिणामलाई केवल वामपन्थी शक्तिको हारका रूपमा मात्र व्याख्या गर्न नहुने बताएका छन् । उनले यसलाई समग्र लोकतान्त्रिक शक्तिहरूको चुनौतीपूर्ण अवस्था भएको टिप्पणी गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले भारतको केरल राज्यमा वाम गठबन्धन पराजित भएको घटनालाई आधार बनाएर नेपालको वाम आन्दोलन समाप्तिको निष्कर्ष निकाल्नु गलत हुने बताएका हुन् ।
उनले केरलको राजनीतिक इतिहास स्मरण गराउँदै त्यहाँ लगभग हरेक निर्वाचनपछि सत्ता परिवर्तन हुने परम्परा रहेको उल्लेख गरेका छन् । अघिल्लो चुनावमा भने अपवादस्वरूप वाम गठबन्धन पुनः सत्तामा फर्किएको उनले बताएका छन् ।
पोखरेलले नेपालको वाम आन्दोलनको भविष्य कुनै एक चुनावी नतिजाले तय नहुने जिकिर गरेका छन् । उनका अनुसार वामपन्थी शक्तिको दिशा र भविष्य उनीहरूले उठाउने एजेन्डा, जनताको हितमा गर्ने काम तथा नागरिकसँगको सम्बन्धले निर्धारण गर्नेछ ।
‘नेपालको वाम आन्दोलनको भविष्य कुनै एउटा चुनावी परिणामले तय हुँदैन,’ उनले लेखेका छन्, ‘त्यो जनता र राष्ट्रको हितमा गरिने गतिविधि, जनविश्वास र भविष्यमुखी दृष्टिकोणबाट निर्धारित हुन्छ ।’
महासचिव पोखरेलले अहिले देखिएको पराजयलाई लोकतान्त्रिक आन्दोलनकै कमजोरीका रूपमा समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । लोकतान्त्रिक शक्तिहरूले हारको वास्तविक कारण पहिचान गर्दै गम्भीर आत्मसमीक्षा र पुनर्गठनतर्फ अघि बढ्नुपर्ने उनको भनाइ छ ।
उनले सुरक्षित र सुदृढ लोकतान्त्रिक भविष्यका लागि पुनर्जागरणसहित स्पष्ट राजनीतिक योजना आवश्यक रहेको उल्लेख गरेका छन् ।
साथै, चुनौती र सङ्कटका बेला निराश भएर पछि हट्नु अवसरवादी प्रवृत्ति भएको टिप्पणी गर्दै पोखरेलले क्रान्तिकारी शक्तिले प्रतिकूल अवस्थालाई अवसरमा बदल्न सक्नुपर्ने बताएका छन् ।
‘सच्चा क्रान्तिकारीले सङ्कटबाट भाग्दैन, त्यसको सामना गर्छ,’ उनले लेखेका छन्, ‘र, प्रतिकूल परिस्थितिलाई अनुकूलतामा रूपान्तरण गर्ने क्षमता राख्छ ।’
प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया