सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–९ स्थित खिला क्षेत्रमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका–१२ कान्तिबजार निवासी ३६ वर्षीय श्याम ठाकुर रहेका छन् । उनलाई स्थानीय रूपमा ‘पप्पु’ भनेर चिनिने गरेको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान ग १ ख ९४६७ नम्बरको बसले ना ४८ प ४७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक ठाकुर गम्भीर घाइते भएका थिए ।
घाइते ठाकुरलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार दुर्घटनामा संलग्न बस र बसधनी पर्सा गाउँपालिका–२ निवासी २७ वर्षीय मानिष कुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनापछि बस चालक कविलासी नगरपालिका–१० सलेमपुर निवासी ४५ वर्षीय बद्री मण्डल भने फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया