काठमाडौं । पूर्वसञ्चारमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले आफ्नो चरित्र र राजनीतिक छविमाथि नियोजित रूपमा भ्रम फैलाइएको भन्दै कडा आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफूले कुनै पनि अनियमितता वा गल्ती नगरेको दाबी गरेका छन् । खरेलले आफूलाई लक्षित गरेर फैलाइएका समाचार र आरोपहरू कपोलकल्पित भएको भन्दै त्यसप्रति विश्वास नगर्न शुभचिन्तकहरूलाई आग्रह गरेका छन् ।
उनका अनुसार सञ्चारमन्त्री हुँदा स्मार्ट टेलिकमसँग सम्बन्धित अर्बौं रुपैयाँको हिनामिना गरेको भन्ने विषयमा आएका समाचारहरू आधारहीन छन् । उनले सत्यतथ्य छानबिन गर्न चुनौती दिँदै आफू पूर्ण रूपमा निडर रहेको बताएका छन् ।
‘मैले कुनै गल्ती गरेको छैन, त्यसैले डराउने प्रश्नै छैन । चाहेको भए छानबिन होस्, खोजी होस्, सत्य अन्ततः बाहिर आउँछ,’ खरेलले सामाजिक सञ्जालमा लेखेका छन् । उनले आफ्नो इमान नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको पनि उल्लेख गरेका छन् ।
सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री भइसकेका खरेल हाल प्रतिनिधिसभामा रास्वपाका सांसद हुन् । उनी ललितपुर–२ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
सांसद जगदीश खरेलले आफूविरुद्ध भइरहेको भनिएको नियोजित प्रचारप्रति गम्भीर आपत्ति जनाउँदै आफ्नो राजनीतिक जीवन र व्यक्तिगत छविमा आक्रमण नगर्न आग्रह गरेका छन् । साथै, आवश्यक परे कानुनी उपचार खोज्ने पनि उनले बताएका छन् ।
प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया