काठमाडौं। पछिल्लो समय देशका विभिन्न क्षेत्रमा हावाहुरी र चट्याङका घटना बढ्न थालेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राकृतिक विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न प्राधिकरणले जनहितमा सूचना जारी गर्दै विभिन्न सुरक्षात्मक उपाय अवलम्बन गर्न अनुरोध गरेको हो ।
प्राधिकरणका अनुसार तीव्र हावाहुरी चलिरहेका बेला घरका झ्यालढोका मजबुत रूपमा बन्द गर्न तथा आगलागीको जोखिम कम गर्न आगोका स्रोत सुरक्षित रूपमा निभाउन वा बन्द गर्नुपर्नेछ ।
त्यस्तै, खुला मैदान, रूखमुनि तथा अन्य असुरक्षित स्थानमा नबस्न सुझाव दिइएको छ ।
यात्रा गरिरहेका वा विशेषगरी मोटरसाइकल चलाइरहेका व्यक्तिलाई यात्रा स्थगित गरी सुरक्षित स्थानमा आश्रय लिन आग्रह गरिएको छ ।
प्राधिकरणका उपसचिव रामबहादुर केसीले विपद्को समयमा आत्तिएर भागदौड गर्दा थप क्षति हुन सक्ने भएकाले संयमित रहनुपर्ने बताउनुभयो ।
उहाँले भीडभाड भएका स्थानमा शान्त रहँदै सुरक्षित ठाउँतर्फ जान र सरकारी निकायबाट जारी सूचनाको पालना गर्न आग्रह गर्नुभयो ।
वैशाख महिनाभर मौसममा हुने फेरबदल र हावाहुरीको प्रभाव अझै केही समय कायम रहने सम्भावना भएकाले पूर्वतयारी, सतर्कता र सचेतनालाई नै सुरक्षित रहने मुख्य उपायका रूपमा प्राधिकरणले जोड दिएको छ ।
प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया