काठमाडौं। संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चौथो वरीयताका न्यायाधीश मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि शुक्रबार बिहान सर्वोच्च अदालतमा फुलकोर्ट बैठक बसेको छ ।
सर्वोच्च अदालतमा उपस्थित सबै न्यायाधीश सहभागी प्रशासनिक बैठकमा प्रधानन्यायाधीश सिफारिसको विषयमा न्यायाधीशहरूले आ–आफ्ना धारणा राखेका थिए ।
स्रोतका अनुसार अधिकांश न्यायाधीशले संवैधानिक परिषद्को निर्णयलाई अनपेक्षित भन्दै यसले न्यायपालिकामा राम्रो सन्देश नदिने धारणा व्यक्त गरेका थिए ।
यद्यपि केही न्यायाधीशले भने सिफारिसको विषयलाई लिएर तत्काल निष्कर्षमा पुग्न नहुने बताएका थिए ।
बैठकमा सहभागी दुई न्यायाधीशले अहिले नै धारणा निर्माण गर्नु उचित नहुने मत राखेको स्रोतले जनाएको छ ।
फुलकोर्ट बैठकका कारण शुक्रबारको मुद्दा पेशी सूची तोक्न करिब साढे दुई घण्टा ढिलाइ भएको थियो ।
प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीश मनोजकुमार शर्मा अदालतमा उपस्थित भए पनि शुक्रबार उनी इजलासमा बसेनन् ।
प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया