काठमाडाैं । बेलायत मा भएको स्थानीय चुनावमा सत्तारूढ लेबर पार्टीले ठूलो हार व्यहोरेपछि प्रधानमन्त्री केयर स्टार्मर माथि दबाब बढेको छ । तर उनले प्रधानमन्त्री पद नछोड्ने र देशलाई अराजकतामा नधकेल्ने अडान दोहोर्‍याएका छन् ।

इंग्ल्यान्ड, स्कटल्यान्ड र वेल्स का चुनावी नतिजाले स्टार्मरको नेतृत्वमाथि प्रश्न थप बलियो बनाएको बीबीसी समाचार ले जनाएको छ । केही लेबर सांसदहरूले उनलाई पद छोड्ने समयसीमा तय गर्न आग्रह गरेका छन् भने उनका मन्त्रिपरिषद्का सहयोगीहरूले हाललाई समर्थन गरिरहेका छन् ।

advertisement

वेल्समा लेबरले सत्ता गुमाएको छ, जससँगै त्यहाँको २७ वर्ष लामो शासन अन्त्य भएको छ । स्कटल्यान्डमा स्कटिश नेसनल पार्टी सबैभन्दा ठूलो पार्टीका रूपमा कायम रहने देखिएको भए पनि पूर्ण बहुमत हासिल गर्ने सम्भावना कम देखिएको छ ।

इंग्ल्यान्डमा रिफर्म यूके सबैभन्दा ठूलो दल बनेको छ । पार्टीले १४ सयभन्दा बढी सिट जित्दै लेबर र कन्जरभेटिभहरूको परम्परागत प्रभाव रहेका क्षेत्रमा समेत काउन्सिल नियन्त्रणमा लिएको छ ।

बीबीसीको ‘प्रोजेक्टेड नेसनल सेयर’ अनुसार अहिलेको मत परिणामकै आधारमा आम चुनाव भए रिफर्म यूके २६ प्रतिशत मतसहित बेलायतको सबैभन्दा ठूलो पार्टी बन्ने देखिएको छ । ग्रीन पार्टी अफ इङ्ग्ल्यान्ड एन्ड वेल्स १८ प्रतिशत मतसहित दोस्रो स्थानमा छ भने लेबर र कन्जरभेटिभ दुवै १७–१७ प्रतिशत मतसहित बराबरीमा रहेका छन् । यसले बेलायतका दुई प्रमुख दलको परम्परागत वर्चस्व कमजोर बन्दै गएको संकेत गरेको छ ।

लेबरले उत्तरी इंग्ल्यान्ड र मिडल्यान्ड्सजस्ता आफ्ना बलिया क्षेत्रसहित एक हजार १०० भन्दा बढी काउन्सिल सिट गुमाएको छ । वेल्समा प्लाइड कम्री संसदको सबैभन्दा ठूलो दल बनेको छ भने रिफर्म यूके मुख्य विपक्षी शक्तिका रूपमा उदाएको छ ।

दबाब कम गर्ने प्रयासस्वरूप स्टार्मरले द गार्डियन मा लेख प्रकाशित गर्दै आफ्नो लक्ष्यमा अडिग रहने र एकता निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हामीले मतदाताले दिएको सन्देशको सम्मान गर्नुपर्छ । तर यसको अर्थ दायाँ वा बायाँ मोडिनु होइन, उनले लेखेका छन्, “यसको अर्थ फराकिलो राजनीतिक आन्दोलनलाई एकताबद्ध गर्नु, आफ्ना मूल्यमान्यतामा अडिग रहनु, दृष्टिकोणमा साहसी हुनु र जनताका माग सम्बोधन गर्नु हो । विभाजन होइन, एकता आवश्यक छ ।

प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com