काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले सांसदहरूका लागि आयोजना गरेको संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा अपेक्षाअनुसार उपस्थिति नदेखिएपछि पार्टी नेतृत्वले असन्तुष्टि जनाएको छ ।
शनिबार आयोजित कार्यक्रममा पार्टीका १ सय ८२ सांसदमध्ये कम संख्यामा मात्र उपस्थिति भएपछि संसदीय दलका उपनेता गणेश पराजुली ले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका हुन् ।
प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उनले सांसदहरूले यस्ता कार्यक्रमलाई कम महत्त्व दिएको बताए । उनले प्रशिक्षण केवल औपचारिकता नभई आत्ममूल्यांकन, अनुभव आदान–प्रदान र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अवसर भएको उल्लेख गरे ।
उनले भने, पार्टीले आयोजना गरेका यस्ता कार्यक्रमलाई प्राथमिकतामा नराख्नु संसदीय भूमिकाबाट विमुख हुने सङ्केत हो ।
पराजुलीले सांसदहरूले अध्ययन, तयारी, पारदर्शिता र जनउत्तरदायित्वलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याए । जनताले अब केवल नयाँ अनुहार नभई नयाँ सोच, कार्यशैली र परिणाममुखी राजनीति खोजिरहेको उनको भनाइ थियो ।
उनले राजनीति अब केवल नाराले नचल्ने भन्दै क्षमता, अध्ययन र परिणामले नै जनताको विश्वास जित्न सकिने बताए । जनताले अब ‘कसले के भन्यो’ भन्दा ‘कसले के गर्यो’ भन्ने आधारमा मूल्याङ्कन गर्न थालेका छन्, उनले भने ।
रास्वपाले सुरुदेखि नै सुशासन, पारदर्शिता, जवाफदेहिता र परिणाममुखी राजनीतिलाई मूल आधार बनाएको उल्लेख गर्दै उनले पार्टीको वाचापत्र तथा सरकारका प्राथमिकतालाई व्यवहारमा उतार्न सक्षम सांसद र सशक्त संसद् आवश्यक रहेको बताए ।
पराजुलीले प्रशिक्षण कार्यक्रमलाई कम महत्त्व दिने विषयलाई पार्टी र संसदीय दलले मूल्याङ्कन गर्ने चेतावनी पनि दिए । साथै, प्रशिक्षणको प्रभावकारिता मूल्याङ्कन गरी कमजोरी सुधारका सुझाव दिन सांसदहरूलाई आग्रह गरे ।
उनका अनुसार यो प्रशिक्षण कार्यक्रम सुरुवात मात्र हो र आगामी दिनमा थप विषय समेटेर नियमित प्रशिक्षण सञ्चालन गरिनेछ ।
प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार












प्रतिक्रिया