काठमाडौं । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीश पदका लागि सिफारिस भएका डा. मनोज कुमार शर्माविरुद्ध हालसम्म तीनवटा उजुरी दर्ता भएका छन्।
संसदीय सुनुवाइ समितिको गत शुक्रबार बसेको बैठकले शर्माविरुद्ध १० दिनको समयसीमा तोकेर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार मंगलबारसम्म तीन उजुरी प्राप्त भएको समिति सचिवालयले जनाएको छ।
समितिले उजुरी दर्ता गर्ने अन्तिम म्याद आगामी जेठ ४ गतेसम्म निर्धारण गरेको छ। उजुरी दिन हुलाक, इमेल, वा सिधै समिति सचिवालयमा उपस्थित भई निवेदन दिन सकिने व्यवस्था गरिएको छ। साथै, समितिका सदस्यलाई प्रत्यक्ष रूपमा खामबन्द उजुरी बुझाउन तथा देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत पनि उजुरी दर्ता गर्न सकिनेछ।
उजुरी पेश गर्दा आरोप वा विषयसँग सम्बन्धित आधार र कारण स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने समितिले आग्रह गरेको छ। प्राप्त सबै उजुरीहरू आगामी जेठ ५ गते बस्ने समितिको बैठकमा सदस्यहरूको उपस्थितिमा खोलिनेछन् र त्यसपछि अध्ययनका लागि सदस्यहरूबीच वितरण गरिनेछ।
संवैधानिक परिषद्को सिफारिसपछि संसदीय सुनुवाइबाट अनुमोदन प्राप्त भएमा मात्र शर्मालाई रामचन्द्र पौडेलले प्रधानन्यायाधीश पदमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार












प्रतिक्रिया