काठमाडौं। नेपाली कांग्रेसका सचेतक निस्कल राई ले प्रधानमन्त्रीको निरन्तर संसद् अनुपस्थितिप्रति कडा आपत्ति जनाउँदै यसलाई लोकतान्त्रिक अभ्यासमाथिको बेवास्ता भएको बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशको कार्यकारी प्रमुखले संसद्जस्तो गरिमामय संस्थालाई हल्का रूपमा लिन खोजेको आरोप लगाए।
प्रधानमन्त्रीको अनुपस्थितिलाई उनले संसदीय अभ्यासप्रतिको चरम उदासीनताको संज्ञा दिए।
सचेतक राईले दुई तिहाइ बहुमतको आडमा सत्ता पक्षले सांसदहरूको भूमिकालाई कमजोर बनाउन खोजेको टिप्पणी गर्दै प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रका लागि शुभ संकेत नभएको बताए।
उनले संसद्लाई सामान्य छलफलस्थल नभई ज्ञान, बहस र उत्तरदायित्वको केन्द्रका रूपमा व्याख्या गर्दै प्रधानमन्त्री स्वयंले नै त्यसको गरिमा अवमूल्यन गरेको आरोप लगाए।
“सदन मन लागे आउने र मन नलागे जाने ठाउँ होइन,” उनले व्यङ्ग्य गर्दै भने, “आज यस्तो अवस्था बनेको छ कि प्रधानमन्त्रीज्यूले नै यो गुरुकुल र विश्वविद्यालय ‘बंक’ गर्न थाल्नुभएको छ।”
प्रधानमन्त्री संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएसम्म आफ्नो विरोध जारी रहने चेतावनीसमेत उनले दिएका छन्।
प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया