नेपाली रंगमञ्चमा पछिल्लो समय फरक शैली र प्रयोगात्मक प्रस्तुतिहरू बढ्दै गइरहेका छन्। त्यही क्रममा मण्डला थिएटरले प्रस्तुत गरेको “ग्राण्ड रिहर्सल” दर्शकलाई केवल हँसाउने नाटक मात्र होइन, रंगमञ्चभित्रको अव्यवस्था, संघर्ष, तनाव र कलाकारको समर्पणलाई हास्यशैलीमा उतारिएको सशक्त प्रस्तुति हो। यदि तपाईंले कहिल्यै नाटक हेर्नुभएको छैन, वा नाटकको रिहर्सल कस्तो हुन्छ भन्ने कल्पना गर्नुभएको छ भने “ग्राण्ड रिहर्सल” तपाईंले अवश्य हेर्नुपर्ने नाटक हो। नाटक सुरु भएदेखि अन्त्यसम्म एउटा प्रस्तुति सफल बनाउन कति “पापड बेल्नुपर्छ” भन्ने यथार्थलाई यसले अत्यन्त मनोरञ्जनात्मक ढंगले प्रस्तुत गर्छ।
विश्व चर्चित “The Play That Goes Wrong” को नेपाली रुपान्तरणका रूपमा तयार गरिएको यो नाटकले नेपाली दर्शकलाई नयाँ स्वाद दिएको छ। नाटकका मूल लेखक हेनरी लेविस, जोनाथन सयेर र हेनरी शिएल्द्स हुन् भने नेपाली रुपान्तरण अनुप न्यौपाने र उमेश तामाङले गरेका हुन्। बुद्धि तामाङ निर्मित तथा उमेश तामाङ निर्देशित यो नाटक बैशाख ११, २०८३ देखि जेठ ३, २०८३ सम्म मण्डला थिएटर, थापागाउँ, काठमाडौंमा मञ्चन भइरहेको छ। सोमवार बाहेक हरेक दिन साँझ ५:३० बजे तथा शनिबार दिउँसो १:३० बजे र साँझ ५:३० बजे विशेष शो समेत राखिएको छ।
नाटकको मूल शक्ति यसको प्रस्तुति शैली हो। एउटा नाटक मञ्चन गर्ने क्रममा भइरहेका गल्ती, कलाकारबीचको तालमेल अभाव, प्राविधिक समस्या, आकस्मिक घटना र त्यसले निम्त्याउने हास्यास्पद परिस्थितिहरू नाटकको प्रमुख आकर्षण बनेका छन्। अपरिपक्क निर्देशक, त्यसमाथि स्टार कलाकार तथा नव कलाकार, अनि परिस्थितिअनुसार प्राविधिकलाई नै स्टेजमा पठाउनुपर्ने बाध्यता — यी सबै अव्यवस्थित अवस्थालाई नाटकले हास्यशैलीमा निकै उत्कृष्ट ढंगले प्रस्तुत गरेको छ। दर्शकले एकपछि अर्को दृश्यमा निरन्तर हाँस्ने अवसर पाउँछन्।
“ग्राण्ड रिहर्सल” लगभग ९० प्रतिशत कमेडीले भरिएको नाटक हो। तर बीचबीचमा यसले मनलाई चसक्क बनाउने क्षणहरू पनि दिन्छ। नाटकभित्र देखाइएका कमीकमजोरी, तनाव र अस्तव्यस्तताले रंगमञ्चको वास्तविक संघर्षलाई उजागर गर्छ। हास्यभित्र लुकेको पीडा र कलाकारको समर्पणले नाटकलाई केवल मनोरञ्जनमा सीमित राख्दैन। विशेष कुरा के छ भने, नाटक नै कमीकमजोरीमा आधारित भएकाले कतिबेला स्क्रिप्टअनुसार घटना भइरहेको हो र कतिबेला वास्तविक गल्ती भइरहेको हो भन्ने छुट्याउन गाह्रो पर्छ। यही अन्योल र अप्रत्याशित परिस्थितिले नाटकलाई अझ रोचक बनाएको छ।
कलाकारहरूको अभिनय ऊर्जावान र जीवन्त छ। सामूहिक अभिनय, संवादको टाइमिङ र शारीरिक हाउभाउमार्फत प्रस्तुत गरिएको हास्य प्रभावशाली देखिन्छ। पात्र निर्माण स्वाभाविक छ भने निर्देशनले नाटकलाई अन्त्यसम्म बाँधेर राख्न सफल भएको छ। सेट डिजाइन, लाइट, साउन्ड तथा मञ्च व्यवस्थापनले पनि प्रस्तुति प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।
समग्रमा “ग्राण्ड रिहर्सल” नेपाली रंगमञ्चमा आएको मनोरञ्जनात्मक, व्यंग्यात्मक र प्रयोगात्मक प्रस्तुति हो। हास्य, तनाव, अव्यवस्था र रंगमञ्चको वास्तविकतालाई एउटै मञ्चमा उतार्ने प्रयासका रूपमा यो नाटक सफल देखिन्छ। थिएटरप्रेमी मात्र होइन, रंगमञ्चबारे जिज्ञासा राख्ने जोकोहीका लागि “ग्राण्ड रिहर्सल” अवश्य हेर्नुपर्ने नाटक बनेको छ।






प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया