पोखरा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिँदै आएको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय पार्टी भेलालाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूलाई पनि सम्मानजनक जिम्मेवारी दिएर पार्टीले समेट्ने प्रक्रिया अघि बढाएको स्पष्ट पारे ।
शर्माले भने, ‘विशेष महाधिवेशनको विपक्षमा रहेका साथीहरू पनि यो पार्टीका उत्तिकै महत्वपूर्ण हिस्सा हुन्। पछिल्ला निर्णयहरू हेर्दा हामीले कसैलाई पनि बाहिर राखेका छैनौँ भन्ने स्पष्ट हुन्छ। सहभागी नभएका साथीहरूलाई समेत उच्च जिम्मेवारी दिइएको छ।’
उनले पछिल्ला निर्णयहरूलाई पार्टी एकताको अभ्यासका रूपमा व्याख्या गर्दै महिला संघको सभापतिमा मिना खरेल, संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे तथा केन्द्रीय समितिमा १९ जना सदस्यहरूको मनोनयनलाई उदाहरणका रूपमा प्रस्तुत गरे ।
शर्माका अनुसार यी सबै निर्णयहरूले पार्टीभित्र समेट्ने र मिलाउने संस्कृतिलाई बल दिएको छ । उनले ती पदमा मनोनित अधिकांश नेताहरू विशेष महाधिवेशन प्रक्रियामा सहभागी नभए पनि उनीहरूको क्षमता र योगदानलाई कदर गरिएको बताए ।
आन्तरिक विवाद र निर्णय प्रक्रियाबारे टिप्पणी गर्दै उनले पार्टीभित्र दोहोरो मापदण्ड हुनु नहुने बताए । ‘एउटा पक्षलाई कारबाही गर्दा स्पष्टीकरण नलिने, तर जिम्मेवारी दिँदा सोधपुछ गर्नुपर्ने भन्ने सोच गलत हो,’ उनले भने ।
पार्टीभित्र लामो समयदेखि देखिँदै आएको ६०/४० को भागबन्डा संस्कृतिलाई अन्त्य गर्नुपर्नेमा जोड दिँदै शर्माले अब सबै मिलेर १०० प्रतिशत कांग्रेस बनाउनुपर्ने धारणा राखे ।
प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया