काठमाडौँ । संस्कृति पार्टीका अध्यक्ष तथा सङ्घीय सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री बालेन शाह को राजीनामा माग गरेका छन्।
आज जारी गरेको प्रेस विज्ञप्तिमा सांसश्रमद साम्पाङले प्रधानमन्त्री शाहले संसद्को अपमान गरेको र संसदीय परम्परा तथा अभ्यासलाई बेवास्ता गरेको आरोप लगाउँदै पदबाट राजीनामा दिनुपर्ने माग गरेका हुन्।
साम्पाङले प्रधानमन्त्री शाहले संसदीय अभ्यासको इतिहासमा ‘कालो धब्बा’ लगाएको तथा जनताको सार्वभौम सदनलाई अवहेलना गरेको दाबी गरेका छन्। उनका अनुसार नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री अनुपस्थित रहनु, संसद्मा सहभागी नहुनु र जनताप्रति जवाफदेही नदेखिनुले लोकतान्त्रिक मूल्य कमजोर बनाएको छ।
विज्ञप्तिमा प्रधानमन्त्रीलाई ‘असक्षम र असफल’को संज्ञा दिँदै साम्पाङले प्रश्न गरेका छन्, “आफ्नो धरातल बिर्सेर जनताका प्रश्नहरूको उत्तर दिन नसक्ने, लुकेर बस्ने प्रवृत्तिले कस्तो नजिर बसाउँछ?”
उनले न्यूनतम संसदीय कर्तव्यसमेत पूरा नगरेकाले नैतिकताको आधारमा पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने उल्लेख गरेका छन्। साम्पाङका अनुसार कर्तव्य पूरा नगर्दा अधिकारको वैधता कमजोर हुने भएकाले लोकतन्त्रको सम्मानका लागि प्रधानमन्त्रीले जिम्मेवारी छोड्नुपर्ने अवस्था देखिएको छ।
प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया