काठमाडौं। इरानका विदेश मन्त्री सैयद अब्बास अरागचीले नयाँ दिल्लीमा आयोजित ब्रिक्स विदेशमन्त्रीस्तरीय बैठकका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) माथि इरानविरुद्धको सैन्य अभियानमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएका छन्।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अरागचीले यूएईले इरानमाथि भएको आक्रमणको निन्दा नगरेको मात्र होइन, आक्रमणकारी पक्षलाई सहयोग र सुविधा उपलब्ध गराएको आरोप लगाएका हुन्। उनले इरानले आत्मरक्षाका लागि आवश्यक कदम चालेको दाबी समेत गरेका छन्।
ब्रिक्स समूहका सदस्य रहेका इरान र यूएईका प्रतिनिधिहरू सहभागी बैठकमा दुई देशबीचको तनाव सतहमा आएको देखिएको छ। भारतस्थित इरानी दूतावासले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार इरानका कानुन तथा अन्तर्राष्ट्रिय मामिला सम्बन्धी उपविदेश मन्त्री काजेम गरिबाबादीले पनि यूएईको भूमिकामाथि कडा टिप्पणी गरेका छन्।
गरिबाबादीले यूएईले अमेरिकी सैन्य संरचना र आक्रमणकारी पक्षलाई सहयोग गरेको आरोप लगाउँदै इरानसँग त्यसको प्रमाण रहेको बताएका छन्। उनले यूएईबाट उडान भरेका फाइटर जेटहरूको समय, मिति र रुटसमेत आफूहरूसँग रहेको दाबी गरे।
इरानले आक्रमणअघि नै यूएईलाई चेतावनी सन्देश पठाएको र आफ्नो भूमिबाट आक्रमणकारी गतिविधि हुन दिए आत्मरक्षाका लागि ती संरचनामाथि कारबाही गरिने जानकारी दिएको पनि जनाएको छ।
यसअघि इजरायलले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानसँगको युद्धका बीच यूएईको गोप्य भ्रमण गरेको दाबी गरेको थियो। तर यूएईले उक्त दाबी अस्वीकार गरेको छ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि सैन्य हमला सुरु गरेपछि इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा तथा अन्य संरचनामाथि मिसाइल र ड्रोन आक्रमण गरेको थियो।
अमेरिकी सञ्चारमाध्यम ‘वाल स्ट्रिट जर्नल’ ले यूएईले इरानविरुद्धको सैन्य अभियानमा भूमिका खेलेको दाबी गर्दै रिपोर्ट सार्वजनिक गरेपछि क्षेत्रीय तनाव झन् बढेको छ। विश्लेषकहरूका अनुसार ‘अब्राहम एकोर्ड’पछि इजरायलसँगको सम्बन्धका कारण यूएई क्षेत्रीय शक्ति सन्तुलनमा दबाबमा परेको देखिन्छ।
प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया