काठमाडौं । नाबालिकामाथि बलात्कारको मुद्दामा अभिनेता पल शाह थुनामा छन् । तनहुँ जिल्ला अदालतमा उनको मुद्दा चलिरहेको छ भने नवलपुर अदालतले बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गर्दै अढाइ वर्षको जेल सजाय सुनाइसकेको छ ।

नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । तनहुँ जिल्ला अदालतले यही मंसिर २५ गतेलाई पेसी तोकेको छ । सोही दिन नै फैसला आउन सक्ने सम्भावना रहेको उनका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए ।

तनहुँ कारागारमा रहेका पललाई भेट्न अहिले दैनिकजसो उनका आफन्त, साथीभाइ र फिल्मकर्मी पुग्ने गरेका छन् । आइतबार पललाई भेट्न फिल्म निर्माता किरण नेपाली पनि कारागार पुगेका थिए ।

जहाँ आफूहरुले फिल्म र सामान्य कुराकानी गरेको निर्माता नेपालीले जानकारी दिए । पलले अहिले कारागारभित्रै रहेर तीनवटा फिल्मको स्क्रिप्ट पढिरहेको पनि उनले बताए ।

यदि पल रिहा हुने अवस्था आए आफ्ना आगामी फिल्म ‘दुई नम्बरी’को दोस्रो सिक्वेलमा लिने समेत किरणले बताए । ‘दुई नम्बरीको सिक्वेलमा पलजीलाई लिन्छु भनेर मैले भनेको छु,’ उनले भने ।

सुरुमा ‘हात्तीछाप’ नामक फिल्म बनाउने र त्यसपछि अन्य प्रोजेक्टमा अघि बढ्ने उनले बताए । पलले कारागारभित्रै जिम लगायतका शारीरिक व्यायामका अभ्यास पनि गरिरहेको उनले जनाए ।

किरणको फिल्म ‘२ नम्बरी’मा यसअघि पल अनुबन्धित भइसकेका थिए । तर मुद्दा चलेपछि उनको ठाउँमा सौगात मल्ल भित्रिएका थिए ।

प्रकाशित मिति: १३ मंसिर २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com