काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल ले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका छन् । टोखा नगरपालिकाले आज आयोजना गरेको आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि सल्लाह, सुझाव सङ्कलन कार्यक्रममा उहाँले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका हुन् ।

उनले अबको समय राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने बेला आएको उल्लेख गरे ।  “अबको २०/२५ वर्षपछिको पुस्ताले पनि सम्झिने गरी काम गर्ने अवसर अहिलेको स्थानीय तहका जनप्रतिनिधिमा छ, त्यसैले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा केन्द्रित हुनुहोस्,” उनले भने ।

advertisement

काठमाडौँ क्षेत्र नं ६ का सांसदसमेत रहेका मन्त्री खनालले टोखाको दक्षिणी भेग निकै बाक्लो बस्तीले भरिएको र उत्तरी भेगमा अझै पनि खुला जमिन बाँकी रहेको भन्दै व्यवस्थित सहर निर्माणमा ध्यान दिनुपर्ने बताए । उनले टोखाको ऐतिहासिक नेवारी बस्ती र शनिबार लाग्ने बजारलाई व्यवस्थित गर्दै पर्यटन प्रवर्द्धन गर्न जरुरी रहेको उल्लेख गरे । टोखामा घरबास ‘होमस्टे’ विकास गर्न सकिने उनको भनाइ थियो ।

मन्त्री खनालले टोखा–छहरे सुरुङ मार्ग विस्तार गर्दा टोखाका धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले यसको विकल्प खोज्नुपर्ने बताए । साङ्ला खोला करिडोर र विष्णुमती खोला करिडोरलाई उक्त राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्दा कम लागत र कम क्षतिमा अन्तर्राष्ट्रिय मापदण्डको सडक बनाउन सकिने उनको भनाइ छ । उनले नगरपालिकालाई थप प्रविधिमैत्री बनाउन कर तिर्नेदेखि सामान्य सिफारिस लिने काम घरबाटै गर्न सकिने गरी ‘डिजिटल’ प्रणाली लागू गर्नुपर्ने बताए ।

बागमती प्रदेशकी सांसद एवम् पूर्वमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले जनताले स्थानीय सरकारसँग धेरै अपेक्षा गरेको भन्दै आफ्नो स्रोत र साधनले भ्याएसम्म जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम बनाउनुपर्ने बताइन् । सांसद श्रेष्ठले विकासको काममा कसैले पनि राजनीति गर्न नहुने उल्लेख गरिन् । पूर्वमन्त्री डा‍‍.वंशीधर मिश्रले संविधानले दिएको अधिकारअनुसार कानुन निर्माण गरी कार्यान्वयनमा जानुपर्ने बताए ।

उनले स्थानीयको इच्छा आकाङ्क्षाअनुसार स्थानीय सरकारले काम गर्नुपर्ने उल्लेख गरिन् । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जनताले दिएको राय, सुझाव र सल्लाहलाई ग्रहण गर्दै नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम बनाउने उल्लेख गरे ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले नगरपालिकाले सामाजिक विकासलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको बताए । उनले नगरपालिकाले विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम, स्वास्थ्य जाँचका लागि मेयर दीर्घायु कार्यक्रम, बाल पोषण भत्ता कार्यक्रम, सार्वजनिक जग्गा संरक्षण, विभिन्न खोलामा ‘करिडोर’ निर्माणलगायत कामहरू गरेको बताउनुभयो । एक लाख ३७ हजार जनसङ्ख्या भएको टोखामा हाल ११ वडा रहेका छन् ।

  • रासस

प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com