काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका दुई महिला सुरक्षाकर्मीले पहिलो पटक सगरमाथा आरोहण अभियानमा सहभागी भई ऐतिहासिक सफलता हासिल गरेका छन्।
सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सशस्त्र प्रहरी हवल्दार अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका हुन्। आइतबार बिहान १०:२० बजे अनिता कार्कीले शिखरमा पुग्दै इतिहास रचेकी थिइन् भने त्यसको करिब डेढ घण्टापछि ११:५५ बजे निम डिक्की शेर्पाले पनि सफल आरोहण पूरा गरिन्। यससँगै उनीहरू सशस्त्र प्रहरी बलबाट सगरमाथा चढ्ने पहिलो र दोस्रो महिला आरोही बन्न सफल भएका छन्।
आरोहणअघि अनिता कार्कीले मनाङस्थित चुलु फार वेस्ट र लोबुचे हिमालको सफल आरोहण गरिसकेकी थिइन् भने निम डिक्की शेर्पाले लोबुचे हिमाल चढेर आफ्नो अनुभव सुदृढ बनाएकी थिइन्।
हाल शिखरबाट फर्किने क्रममा रहेकी निम डिक्की शेर्पाले ल्होत्से हिमाल आरोहण गर्ने योजना समेत अघि बढाएकी छन्। यदि उनले ल्होत्से पनि सफलतापूर्वक आरोहण गरिन् भने सगरमाथा र ल्होत्से दुवै शिखर एकै अभियानमा चढ्ने पहिलो सशस्त्र प्रहरी कर्मचारीको कीर्तिमान कायम गर्नेछिन्।
यसअघि सुरज पौडेल (सशस्त्र प्रहरी नायब उपरीक्षक) र दन्त बहादुर छन्त्याल (सशस्त्र प्रहरी नायब निरीक्षक)ले सगरमाथा सफलतापूर्वक आरोहण गर्दै सशस्त्र प्रहरी बल नेपालको झण्डा विश्वको सर्वोच्च शिखरमा पुर्याएका थिए।
प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया