काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र साहले नियतवश संसदको उपेक्षा गरिरहेको आरोप लगाएका छन्।

उनले प्रधानमन्त्रीको कार्यशैली अपरिपक्वताका कारण नभई सचेत रूपमा संसदीय प्रणालीलाई कमजोर बनाउने दिशामा गएको दाबी गरेका छन्।

advertisement

प्रजातान्त्रिक विचार समाज नेपालको साधारणसभालाई सम्बोधन गर्दै पौडेलले प्रधानमन्त्री संविधानप्रति उत्तरदायी हुनुपर्ने भए पनि व्यवहारमा त्यसको पालना नभएको बताए।

उनले संसदलाई बेवास्ता गर्ने प्रवृत्तिले लोकतान्त्रिक व्यवस्था र संवैधानिक प्रणालीमाथि नै प्रश्न उठाएको टिप्पणी गरे।

पौडेलका अनुसार ठूलो जनसमर्थनका साथ बनेको सरकार छोटो समयमै प्रश्नको घेरामा पर्न थालेको छ।

यसले नागरिकमा निराशा बढाउने र व्यवस्थामै विकल्प छैन भन्ने सोच जन्माउने खतरा बढेको उनको भनाइ थियो।

उनले सरकारमाथि अत्यधिक शक्ति केन्द्रीकरण गरेको आरोप पनि लगाए।

राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण तथा विशेष अनुसन्धानजस्ता निकायहरू प्रधानमन्त्री केन्द्रित बनाइएको भन्दै उनले संवैधानिक सन्तुलन कमजोर पारिएको दाबी गरे।

संवैधानिक परिषद्को संरचनाबारे पनि उनले असन्तुष्टि जनाए।

६ सदस्यीय समितिमा ३ जनाले बहुमत पुग्ने व्यवस्था विश्वमै दुर्लभ अभ्यास भएको उल्लेख गर्दै यस्तो प्रवृत्तिले लोकतान्त्रिक मान्यतामाथि आघात पुग्ने बताए।

पौडेलले “म नै सबैथोक हुँ” भन्ने मानसिकता लोकतन्त्रका लागि खतरनाक हुने चेतावनी दिँदै समयमै सरकारलाई संवैधानिक सीमाभित्र राख्न आवश्यक रहेको बताए।

उनले लोकतान्त्रिक मूल्य र विधिको रक्षा गर्न नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा सक्रिय रूपमा उभिने स्पष्ट पारे।

उनले सरकार असफल होस् भन्ने चाहना नरहेको तर लोकतन्त्र कमजोर पार्ने कुनै पनि प्रयासविरुद्ध प्रतिपक्ष मौन बस्न नसक्ने बताए।

साथै, लोकतान्त्रिक चरित्र कमजोर भएको राज्यले नागरिकलाई दुःख दिने भएकाले लोकतान्त्रिक मूल्यको रक्षा साझा जिम्मेवारी भएको उनको भनाइ थियो।

प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com