काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नयाँ पुस्ताको भविष्य सुरक्षित गर्न र मुलुकलाई स्थायित्वतर्फ लैजान संविधान संशोधन को विषयलाई गम्भीर रूपमा अघि बढाउनुपर्ने बताएका छन्।

उनले वर्तमान पुस्ताको अपेक्षा सम्बोधन गर्न नसकिए आगामी दशकमा नयाँ प्रकारको असन्तुष्टि र विद्रोह जन्मिन सक्ने चेतावनी दिएका छन्।

advertisement

वीपी स्मृति भवनमा आयोजित कार्यक्रममा बोल्दै शर्माले बदलिँदो समय, युवा पुस्ताको सोच र राष्ट्रिय आवश्यकताअनुसार संविधानलाई परिमार्जन गर्दै लैजानुपर्ने धारणा राखे।

उनका अनुसार संविधान संशोधनलाई दलगत स्वार्थभन्दा माथि उठाएर राष्ट्रिय सहमतिका आधारमा अगाडि बढाउन आवश्यक छ।

उनले अहिले समाजमा उठिरहेका प्रश्न, असन्तुष्टि र अपेक्षालाई समयमै सम्बोधन गर्न नसकिए देशले गम्भीर संकट भोग्नुपर्ने अवस्था आउन सक्ने बताए।

आवेग र राजनीतिक आग्रहभन्दा बाहिर निस्केर नागरिक र विशेषगरी युवा पुस्ताको भावनालाई केन्द्रमा राखेर सुधारको प्रक्रिया अघि बढाउनुपर्नेमा उनले जोड दिए।

शर्माले नेपाली कांग्रेसले संविधान संशोधन र समसामयिक राजनीतिक विषयमा अध्ययन तथा सुझावका लागि उपसभापति पुष्पा भुसालको नेतृत्वमा विज्ञ टोली परिचालन गरिसकेको जानकारी पनि दिए।

उनले पार्टीभित्र तथा बाहिरका बुद्धिजीवी, आलोचक र आम नागरिकबाट रचनात्मक सुझाव अपेक्षा गरिएको बताए।

उनले भने, “आजका युवाको आशालाई विश्वासमा बदल्न सकिएन भने १० वर्षपछि परिस्थिति भयावह हुन सक्छ। अहिलेको ‘अल्फा जेनेरेसन’ वयस्क हुँदा फेरि नयाँ विमति र विद्रोह लिएर सडकमा उभिने अवस्था आउन दिनु हुँदैन।”

शर्माले विगतका हिंसात्मक र अस्थिर राजनीतिक घटनाहरू दोहोरिन नदिन सबै राजनीतिक शक्तिहरू जिम्मेवार हुनुपर्ने बताए।

“हामी फेरि आमाहरूको काख रित्तिने र सिंहदरबार जल्ने दृश्य देख्न चाहँदैनौँ,” उनले भने।

उनका अनुसार आजको युवा पुस्ताको मुख्य चाहना लोकतन्त्रसँगै विकास पनि हो।

उनले ‘डी एन्ड डी’ अर्थात् ‘डेमोक्रेसी एन्ड डेभलपमेन्ट’ नै वर्तमान पुस्ताको मूल अपेक्षा भएको उल्लेख गर्दै लोकतान्त्रिक प्रणालीभित्रै बसेर विकास र स्थायित्व हासिल गर्न कांग्रेस प्रतिबद्ध रहेको बताए।

देश सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उनले सरकार र प्रतिपक्ष दुवैले संयम, जिम्मेवारी र सहकार्यका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com