काठमाडौं। प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा हालसम्म ७ वटा उजुरी दर्ता भएका छन्।
सङ्घीय संसद् सचिवालयका अनुसार शनिबार साँझसम्म ती उजुरीहरू प्राप्त भएका हुन्।
संसद् सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले उजुरी दर्ताको प्रक्रिया जारी रहेको जानकारी दिएका छन्।
समितिले यसअघि वैशाख २६ गते सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध स्पष्ट आधार, प्रमाण र विवरणसहित उजुरी दिन १० दिनको समय दिएको थियो।
समितिले उजुरीकर्ताको गोपनीयता सुरक्षित रहने जनाएको छ।
साथै, उजुरी दिने व्यक्तिले आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर अनिवार्य रूपमा खुलाउनुपर्ने व्यवस्था गरिएको थियो।
उजुरी दर्ताको समयसीमा सोमबार कार्यालय समयसम्म कायम रहेकाले उजुरीको संख्या अझै बढ्न सक्ने सचिवालयले जनाएको छ।
संवैधानिक व्यवस्था अनुसार संवैधानिक परिषद्को सिफारिसमा आएको नाममाथि संसदीय सुनुवाइ समितिले योग्यता, क्षमता, आचरण र पृष्ठभूमिको परीक्षण गर्ने व्यवस्था छ।
त्यसपछि मात्रै नियुक्ति प्रक्रिया अघि बढ्नेछ।
समितिले प्राप्त उजुरीमाथि प्रारम्भिक अध्ययन र छलफल गरेपछि प्रस्तावित प्रधानन्यायाधीश शर्मालाई संसदीय सुनुवाइका लागि बोलाएर प्रत्यक्ष प्रश्नोत्तर गर्ने तयारी गरेको जनाएको छ।
प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया