काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी को नेकपा एमालेमा भएको पुनरागमन र पार्टी अध्यक्ष केपी शर्मा ओली सँगको सम्बन्धमा आएको निकटताले एमालेभित्र नयाँ राजनीतिक समीकरणको संकेत देखिएको छ।

मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुस्थित मदननगरमा आयोजित कार्यक्रममा भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी भएपछि एमालेभित्रको शक्ति सन्तुलन फेरिँदै गएको विश्लेषण हुन थालेको छ। गत फागुन २१ यता ओली र भण्डारीबीच पटक–पटक भेटवार्ता भएको र पछिल्लो दुई महिनामा मात्रै चार पटक संवाद भएको स्रोतहरूको दाबी छ।

advertisement

पछिल्लो पटक वैशाख २८ गते ओली निवास गुण्डु पुगेकी भण्डारीले अध्यक्ष ओलीसँग लामो राजनीतिक छलफल गरेकी थिइन्। त्यसअघि पनि ओली बिरामी हुँदा शिक्षण अस्पताल पुगेर भेट गरेको र पितृशोकका बेला समवेदना दिन पुगेको घटनालाई एमालेभित्र अर्थपूर्ण रूपमा हेरिएको छ।

एमालेभित्र दोस्रो तहका नेताहरूले ओलीको विकल्प खोज्न थालेपछि अध्यक्ष ओली भण्डारीसँग नजिकिएको चर्चा समेत पार्टी वृत्तमा चलिरहेको छ। उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण बिष्ट, रघुजी पन्त तथा महासचिव शंकर पोखरेल लगायतका नेताहरूले पार्टीभित्र नयाँ रणनीति अघि बढाइरहेको विश्लेषण गरिएको छ।

मदन–आश्रित स्मृति सभामा नेताहरूले व्यक्त गरेका धारणा पनि एमालेभित्रको फरक शक्ति केन्द्रको संकेतका रूपमा हेरिएको छ। उपाध्यक्ष रामबहादुर थापा ले ओलीको बचाउ गर्दै पछिल्ला राजनीतिक घटनाक्रमलाई दासढुंगा प्रकरणसँग जोडे भने भण्डारीले आत्मसमीक्षा, जनमुखी कार्यशैली र पार्टी एकताको आवश्यकता औँल्याइन्।

त्यसैगरी महासचिव शंकर पोखरेलले एमालेका वर्तमान नीति र कार्यशैलीमाथि समीक्षा आवश्यक रहेको धारणा राख्दै चुनावी हारबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने बताएका थिए। उनले मदननगर बल्खुमै एमालेको नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गरिने घोषणा पनि गरेका छन्।

एमालेभित्र अहिले ओली पक्ष, भण्डारी पक्ष र दोस्रो तहका नेताहरूको छुट्टै धार सक्रिय रहेको चर्चा छ। पार्टीभित्र नेतृत्व परिवर्तन र पुनर्गठनको बहस तीव्र भइरहेका बेला पूर्वराष्ट्रपति भण्डारीको सक्रियताले वाम राजनीति नयाँ मोडतर्फ उन्मुख भएको विश्लेषण गरिएको छ।

यसैबीच, एमाले र अन्य वाम शक्तिबीच वृहत् वाम एकताको सम्भावनाबारे पनि आन्तरिक छलफल भइरहेको बताइएको छ। केही नेताहरूले भण्डारीलाई साझा र स्वीकार्य नेतृत्वका रूपमा अघि सार्ने प्रयास गरिरहेको चर्चा समेत राजनीतिक वृत्तमा चलिरहेको छ।

प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com